काठमाडौंमा विदेशबाट फर्केका व्यक्ति लुटपाटमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा लुटपाटमा संलग्न एक गिरोहलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं गौशालास्थित रुन्चेडाँडाको सार्वजनिक बाटोमा विदेशबाट फर्केका एक व्यक्ति १३ असारमा लुटिएका हुन् । उनको साथमा रहेको ४५ हजार रुपैयाँ लुटेरा समूहले लगेको थियो । लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी वृत्त गौशालाले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का ३२ वर्षीय रामबहादुर तामाङ, सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–३ का ४० वर्षीय विपिन लामा, महोत्तरीको बर्दिबास नगरपालिका–६ घर भएका ३८ वर्षीय विनोद मगर, रामेछापको सुनापति गाउँपालिका–३ का ३० वर्षीय राजु तामाङ र रामेछापको मन्थली नगरपालिका–१६ का ३० वर्षीय राजकुमार माझी छन् ।

उनीहरुले साँझ ६ बजेतिर विदेशबाट फर्केका ती व्यक्तिलाई धम्क्याउँदै लुटपाट गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए । प्रहरीले उनीहरुविरुद्ध डाँका गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *