राजनीतिमा फर्किने पूर्वराष्ट्रपतिको घोषणाले एमालेमा हलचल, असन्तुष्ट नेता कार्यकर्तामा उत्साह

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने विषय केही समयदेखि चर्चा र टीकाटिप्पणीको विषय बनेको थियो । तर शनिबार पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किने र त्यसका लागि एमालेको सदस्यता नविकरण गरेको घोषणा नै गरेपछि त त्यसले नेपाली राजनीति र त्यसमा पनि नेकपा एमालेमा भने हलचल नै ल्याएको छ । मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा शनिबार मदन भण्डारी फाउण्डेशनले गरेको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा आउने घोषणा गरेपछि विभिन्न टीकाटिप्पणी हुन थालेका छन् ।

हुन त पूर्वराष्ट्रपति भण्डारीभन्दा अघि बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले एक रहेको र आज यहाँ कुनै वम विष्फोट नहुने बताएका थिए । उनले भनेका थिए, ‘यसमा मान्छेले विभिन्न आस गरेका छन् । त्यहाँ मैले एकदम बम पड्काउँछु, विद्या भण्डारीजीले बम पडकाउनुहुन्छ । ‘यहीँबाट एमाले ध्वस्त हुन्छ भन्ने सपना देखेर बसेका छन्। । तर एमाले एक छ र एक नै रहन्छ । कसैले पनि त्यस्तो आशा नराखे हुन्छ । कुनै बमबारुद केही पड्कदैन । आस पनि कस्ताकस्ता ।’

तर ओलीको अपेक्षा विपरीत पूर्वराष्ट्रपतिले राजनीतिमा आउने घोषणा गरेपछि एमालेमा भने हलचल मच्चिएको छ । शनिबारै पोखरामा आयोजित कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपतिलाई प्रयोग गरेर एमालेविरुद्ध ध्रुब खडा गर्न अवसरवादी तत्व सलबलाएको टिप्पणी गरेका छन् । उनले पूर्वराष्ट्रपति भण्डारी एमालेले लिएको समृद्धि र विकासको आकांक्षाबाहिर जान नसक्ने बताए । उनले भने, ‘मलाई लाग्छ हाम्रो सम्माननीय पूर्वराष्ट्रपति नेकपा एमालेको विकास र समृद्धिको आकांक्षाबाट बाहिर जान सक्नुहुन्छ भन्ने म ठान्दिनँ ।’ पूर्वराष्ट्रपतिको यो घोषणापछि एमालेको एउटा पंक्ति ओलीलाई नै आगामी एक कार्यकाल अध्यक्ष बनाउनुपर्ने भन्दै अभिव्यक्ति दिन थालिसकेका छन् ।

राजनीतिमा फर्किने पूर्वराष्ट्रपति भण्डारीको घोषणाले एमालेको आन्तरिक जीवनमा कस्तो असर पर्ला अहिले नै भन्न नसकिएला । तर शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने पछिल्लो एमाले विभाजन पछि निष्क्रिय बसेका वा असन्तुष्ट भएका वा मौन बसेका नेता कार्यकर्ताको उत्साहजनक सहभागिता देखिएको उल्लेख गरेका छन् ।

कार्यक्रममा सहभागी भएर फर्केपछि भट्टराईले यस्तो टिप्पपणी गरेका छन्ः

आयोजकको औपचारिक निमन्त्रणा पाएर मदन भण्डारी फाउन्डेसनको मदन जयन्तीको शनिबारको कार्यक्रममा मैले पनि सहभागिता जनाएँ । मेरो अनुभूति यस्तो रह्यो

१ . पूर्वराष्ट्रपति दलिय राजनीतिमा आउन हुने नहुने कुरा निरपेक्ष सही वा गलत होइन । यो विषयमा विमर्श जारी रहनु पर्दछ । त्यो विषयमा अहिले मेरो कुनै टिप्पणी छैन ।

२. तर राष्ट्रियसभा गृहमा जे दृष्य देखियो त्यसमा मेरो अनुभूति जस्ताको तस्तै

क . पछिल्लो एमाले विभाजन पछि निष्क्रिय बसेका वा असन्तुष्ट भएका वा मौन बसेका नेता कार्यकर्ताको उत्साहजनक सहभागिता देखियो ।

. कोअर्डिनेशन केन्द्र कालदेखि निरन्तर नेतृत्वमा रहेका वरिष्ठ नेताहरु अमृत बोहोरा, ईश्वर पोखरेल, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे समेतको उपस्थितिमा विद्या भण्डारीले राजनीतिमा पुनः सकृय हुने घोषणा गर्दा हलमा कर्तलध्वनी सहितको ताली बजेको थियो।

. यो सभा विगत दशवर्ष यता त्यो हलमा भएका मध्येको खचाखच र ओभर क्राउडेड कार्यक्रम हो भन्ने टिप्पणी धेरैबाट सुनियो भने सभामा युवादेखि जेष्ठ नागरिक सबै उमेर समूहका मानिसहरु धैर्यतापूर्वक अन्तिमसम्म बसेको देखियो।

घ .  कार्यक्रम पश्चातको अनौपचारिक गफमा ईश्वर पोखरेलको खुलेको भाषणको बारेमा धेरैले प्रतिक्रिया जनाएको पाइयो । लाग्दथ्यो उहाँले वरिष्ठ नेताको हैसियतमा पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा औपचारिक आमन्त्रण गर्दै हुनुहुन्थ्यो ।

ङ.  एमालेको आन्तरिक जीवनमा पूर्वराष्ट्रपति भण्डारीको घोषणाले कस्तो असर पर्ला निकट भविष्यमा प्रकट होला तर त्यहाँ अभूतपूर्व उत्साह देखिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *