काठमाडौं । उज्वेकिस्तानमा आजबाट एएफसी महिला एसियन कप छनोट शुरु हुँदैछ । आज हुने पहिलो खेलमा नेपालले लाओसविरुद्ध खेल्दै छनोटको शुरुवात गर्नेछ ।
नेपालको लागि आजको खेल एतिहासिक रहेको छ । अन्तराष्ट्रिय खेल खेल्न लागेको चार दशकपछि नेपालले आज एक सय खेलको कोशेढुङ्गा पुरा गर्दैछ ।
यस्तै नेपाल नयाँ विदेशी प्रशिक्षक प्याट्रिक डी वाइल्डको प्रशिक्षणमा आज पहिलोपटक मैदान उत्रिदैछ । आजको इतिहासिक खेल प्याट्रिकको लागि डेब्यु खेलपनि हुनेछ । त्यसैले नेपाल एतिहासिक खेलमा जित निकाल्दै छनोटको शुरुवात गर्न चाहन्छ । खेल नेपाली समय अनुसार बेलुकी ६:१५ बजे शुरु हुनेछ ।
नेपाल आज पहिलोपटक लाओससँग खेल्न लागेको हो । यसअघि दुवै टोली कुनैपनि खेलमा आमनेसामने भएका छैनन् । त्यसैले दुवै टोलीका लागि नौलो प्रतिद्वन्द्वी हुनेछन् । फिफा वरीयतालाई आधार मान्ने हो भने नेपाल लाओस भन्दा तुलात्मक रुपमा बलियो रहेको छ । फिफा वरीयताको नेपाल १ सय औं स्थानमा रहेको छ भने लाओस १ सय ७ औँ स्थानमा रहेको छ ।
आफ्नो पछिल्लो चार खेलमा जितविहीन रहेको नेपाल आजको खेलमा जित निकाल्दै उक्त खराब रेकर्डलाई ब्रेक लाउन चाहन्छ । नेपालले पछिल्लोपटक थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल २-० गोलले पराजित भएको थियो । त्यसअघि बन्द रंगशालामा थाइल्याण्डविरुद्ध भएको खेलमापनि नेपाल १-० गोलले पराजित भएको थियो ।
यता लाओसपनि आफ्नो पछिल्लो चार खेलमा जितविहीन रहेको छ । पछिल्लो चार खेलमा लाओसले मलेसियासँग ३-१, साउदी अरेबियासँग ४-० र सिंगापुरसँग १-० गोलको हार बेहोर्दा टिमोर लिस्टेसँग गोलरहित बराबरी खेलेको थियो ।
नेपाली टोलीको लागि यस छनोट एसियन कप छनोटमात्र नभई भविष्यको बाटो कोर्ने माध्यमपनि रहेको छ । नेपाल एसियन कपमा छनोट भएको खण्डमा २०२७ मा हुने फिफा विश्वकप छनोट र २०२८ मा हुने ओलम्पिकको लागिपनि ढोका खुल्नेछ । यदि छनोट नभएको खण्डमा नेपाल आगामी चारवर्षको लागि ठुलो प्रतियोगिताबाट बाहिर हुनेछ र साफ च्याम्पियनसिपमै खुम्चिनेछ ।
छनोटको लागि नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्ड २३ सदस्यीय टोली लिएर गत बुधबारनै उज्वेकिस्तान पुगेका थिए । उज्वेकिस्तानको चर्को गर्मी मौसममा घुममिल हुन नेपाली टोली चाडै उज्वेकिस्तान पुगेको थियो ।
नेपाली टोलीमा विभागीय टोली नेपाल एपीएफ क्लबकी डिफेन्डर प्रतीक्षा चौधरीले पहिलोपटक स्थान बनाएकी छिन् । उनीसँगै डिफेन्डरमा गीता राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, विमला विक, पूजा राना र अमृता जैशी रहेका छन् ।
गोलरक्षकमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उषा नाथ छन् भने मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता राना मगर र सरस्वती हमालले स्थान बनाएका छन् ।
यस्तै टोलीको अग्रपंक्तिमा सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल रहेका छन् ।
छनोटमा सहभागि ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । ६ समूहमा चार टोली रहेका छन् भने दुई समूहमा पाँच टोली रहेका छन् । आठ समूहको विजेता एसियन कपमा छनोट हुनेछन् ।
छनोटमा नेपाल समूह ‘एफ’मा रहेको छ । समूह ‘एफ’मा नेपालसँगै लाओस, श्रीलंका र घरेलु टिम उज्वेकिस्तान रहेका छन् । नेपालले दोस्रो खेल श्रीलंकासँग २ जुलाईमा र तेस्रो तथा अन्तिम खेल ५ जुलाईमा उज्वेकिस्तानसँग खेल्नेछ ।