पौवादुङमाका उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

भोजपुर। विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले पौवादुङमा गाउँपालिकाभित्रका उत्कृष्ट अङ्क ल्याउने बाह्र विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ‘गाउँपालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम’अन्तर्गत पुरस्कृत गरिएको हो । कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ३, ५, ८ र १० का उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

तिवारीभञ्याङ माध्यमिक विद्यालय, पञ्चकन्या मावि, मानेडाँडा मावि, सानोदुम्मा मावि, सूर्योदय मावि, सिंहबालसुधार आधारभूत विद्यालय र बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख सुनिता कटुवालले बताए।

गाउँपालिका अध्यक्ष किरण राईले आर्थिक अवस्था कमजोर भएका तथा विद्यालयमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रोत्साहित गर्दै नियमित विद्यालय आउने वातावरण निर्माणका लागि गाउँपालिकाले छात्रवृत्ति वितरण गर्दै आएको बताए ।

“गाउँपालिकाले यहाँका विद्यालय तथा विद्यार्थीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ”, अध्यक्ष राईले भने, “यसले विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पुगेको छ । बर्सेनि हामीले विद्यार्थीहरूका लागि प्रोत्साहनका कार्यक्रम गरिरहेका छौँ ।”

गाउँपालिकाले उत्कृष्ट दुई विद्यालयलाई नगद र प्रमाणपत्रले सम्मान गरेको छ । उत्कृष्ट बन्ने सानोदुम्मा माविलाई नगद रु तीन लाख र मानेडाँडा माविलाई नगद रु दुई लाखले सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि पौवादुङमा गाउँपालिकाले जोड दिएको गाउँपालिका उपाध्यशक्ष ज्योत्सना राईले बताए । खस्किँदो शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले योजनाबद्ध रूपमा काम भइरहेको उनको भनाइ छ ।

गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने कार्यदललाई पनि सम्मान गरेको छ । कार्यदलकी संयोजक सुनिता कटुवाल, सदस्य मचिन्द्रकुमार राई, टलक कार्की, प्रकार राई, सन्तोष राई, नारायणबहादुर खड्का र रमेश कटुवाललाई प्रशंसापत्रद्धारा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *