काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हाल पार्टी भित्र देखिएको वैचारिक, राजनीतिक, व्यवहारिक र सांस्कृतिक विचलनप्रति चिन्ता व्यक्त गरेका छन् ।
शनिबार पार्टीका केन्द्रीय सल्लाहकार तथा वरिष्ठ नेता कृष्णलाल गोजा श्रेष्ठको श्रद्धाञ्जली सभामा प्रचण्डले आजभोलि पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका बताएका हुन् ।
उनले पार्टीलाई फेरि समाजवादको दिशातर्फ अग्रसर गराउने संकल्पमा सबैले दृढ प्रतिबद्धता व्यक्त गर्न आवश्यक रहेको बताए । उनले भने, ‘आजभोलि पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन् । यी सबैसँग जुध्दै समाजवादको यात्रामा अगाडि बढ्न हामी सबै थप प्रतिवद्ध हुनुपर्छ ।’
उनले पार्टीको केन्द्रीय समितिको बैठकमा विचार, राजनीतिक मुद्दा, वर्गप्रतिको सम्बन्ध कमजोर भएको भन्दै गम्भीर समीक्षा गरेको बताए ।
उनले भने, ‘जनयुद्धको बेला होस् वा जनआन्दोलनको बेला । आजभोलि त्यसमा धेरै नै खडेरी परेको देखिन्छ । सबैतिर पदको निम्ति, स्वार्थको निम्ति तँछाडमछाड गरेको देखिन्छ ।’