काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाद्वयय एलिना चौहान र समीक्षा अधिकारीको ‘डिजिटल प्रतिरोध’ अभियानमा समर्थन जनाएका छन् ।
शनिबार बिहान सामाजिक संजालमार्फत प्रधानमन्त्री ओलीले ‘साहसी छोरीहरू’ भन्दै एलिना र समीक्षाको अभियानमा समर्थन जनाएका हुन् । उनले आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनुपर्ने बताएका छन् ।
ओलीले लेखेका छन्, ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ। समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन ’गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।’
एलिना र समीक्षाले आफ्नो निजी जीवनप्रति टिप्पणी गर्ने सामाजिक संजालकर्ताको परिचय सार्वजनिक गर्दै प्रतिरोध अभियान चलाइरहेका छन् ।