मदनले कोरेको लक्ष्मण रेखामा कम्युनिष्ट आन्दोलन किन टिक्न सकेन ?

-टंक कार्की ।

मदन भण्डारीको राजनीतिक उदय त्यतिखेर भयो जतिखेर १. नेपाल निरंकुश राजतन्त्रबाट बहुदलीय प्रजातान्त्रिक/संवैधानिक राजतन्त्रात्मक व्यवस्थामा संक्रमण हुँदै थियो, र २. सोभियत संघ र पूर्वी युरोपमा ‘समाजवाद’को पतन भइरहेको र यसर्थ, दुई ध्रुवीय विश्व संरचनामा एउटा ध्रुव पछि धकेलिएको अवस्था थियो । कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्था धकेलिएको थियो ।

मुलुक भित्रको त्रि–शक्ति सन्तुलनको (राजतन्त्र, काङ्ग्रेस र वामपन्थी) एउटा पक्षको हैसियतमा नेपाली कम्युनिष्ट आन्दोलनले लिने दिशा तरवारको धारमा हिँड्नु जत्तिकै जोखिमपूर्ण थियो । मुलुकमा आफैं समेत संलग्न संयुक्त आन्दोलनबाट भरखरै स्थापित पुँजीवादी प्रजातन्त्रको उपर्युक्त स्वरुपलाई कसरी ग्रहण गर्ने र कस्तो कार्य दिशा लिने भनेर निर्णय लिनु रणनीतिक महत्वको काम थियो । यो संगीन घडी थियो र यहाँ दुईटा उत्ताउला काम हुन सक्थे, माक्र्सवादी साहित्यमा भनिने गरिएको दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकाव । (यी दुईटैले ल्याउने त विसर्जन नै हो ।) दक्षिणपन्थी अवसरवादले सामाजिक क्रान्तिको सामाजिक मिसन बिर्सने र सत्ताको शान र सुविधामा हेलिन जोड दिन्थ्यो भने उग्र वामपन्थी भड्कावले ’निरन्तर क्रान्ति’को नाममा क्रान्तिकारी शब्दाडम्बरको फेरि लगाउने र त्यहीं अनुरुपको चर्तिकला देखाउथ्यो । मिशनमा प्रतिवद्ध शक्तिको जिम्मेवार विकल्प चाहीं यी दुईटै अतिबाट बच्नु हुन्थ्यो ।

मदन भण्डारीले भने बिना लपनछप्पन व्यवहारिक सोंचको अगुवायी गरे । पुँजीवादी प्रजातन्त्रका ’रुप पक्ष’लाई ‘क्रान्तिकारी सार’मा कलमी गरे । बहुदलीय प्रणाली, आवधिक निर्वाचन, बहुमतको शासन र अल्पमतको विपक्ष, कानुनी शासन, मानव अधिकार, शक्तिको प्रिथकिकरण जस्ता विषयलाई ’क्रान्तिकारी जनसत्ता, मिश्रित अर्थतन्त्र (निजी क्षेत्रको भुमिकालाई रणनीतिक अर्थमै लामो समयसम्म स्विकारेर स्थान दिनु, राज्य क्षेत्रलाई स्वच्छ र प्रभावकारी बनाउनु तथा सहकारी क्षेत्रलाई जनस्तरबाट विस्तार गर्दै लानु) र आधुनिक संस्कृति’ निर्माणमा सजाए । त्यसलाई उनले ’जनताको बहुदलीय जनवाद’मा लिपिवद्ध गरे । तर त्यसपछि उनले त्यति मौकै पाएनन् । ३२ वर्षअघि पार्टीका अर्का नेता जीवराज आश्रित सहित उनको रहस्यपूर्ण हत्या गरियो । त्यसपछिका ३ दशक गुज्रेका छन् ।

मदनको अवसान पछि मदनले कोरेको लक्ष्मण रेखामा कम्युनिष्ट आन्दोलन टिक्न सकेन । यो दक्षिणपन्थी अवसरवादी विचलन र उग्रवामपन्थी भड्कावको तानातानमा पर्यो । दक्षिणपन्थी अवसरवादी विचलनले उग्रवामपन्थी भड्कावको निम्ति बारुद तयार गरिदियो भने उग्रवामपन्थी भड्कावले दक्षिणपन्थी अवसरवादी विचलनलाई खोर बाख्री खोर गर्यो । हो, पुँजीवादी प्रजातन्त्रलाई ‘धोखाधडीको उपकरण’को रुपमा प्रयोग गरिँदै आएको इतिहास छ । त्यसैमा हेलिनु र चुनावदेखि चुनावसम्म सीमित हुनु हुँदैनथ्यो । यो पनि क्रमशः हुँदै गयो । तर के त्यतिकै भरमा यसलाई अस्वीकार गर्नु युक्तिसङ्गत हुन्थ्यो ?! हुनु हुँदैनथ्यो । त्यसलाई पनि ‘मुक्तिको उपकरण’को रुपमा ग्रहण गर्न माक्र्सवादले बर्जित गर्दैनथ्यो । ( Introduction to Marx’s Class Struggles in France by Frederic Engels र Preamble of the Programme of the French Workers’ Party written by K. Marx  हेरे हुन्छ ।) तर यहीं आन्दोलन भित्रको अर्को धारा सुरुमा अनकनाउँदै स्वीकारेको भए पनि अलिक पछि यसलाई अस्वीकार गर्दै जनयुद्धमा होमियो । लोकतान्त्रिक गणतन्त्रको स्थापना पछाडी पनि एउटा पक्ष त आज पनि वहिस्कारको पैरवी गर्दै छ ।

मदन भण्डारीलाई उनका आलोचकले भन्दा पनि उनका खाँटी अनुयायी हुँ भन्नेहरुले आफ्नो विचलनलाई छोपछाप पार्न विकृत रुपमा प्रस्तुत गरे । देख्नलाई तिनको ‘देवपुजन’ त देखिन्छ तर ‘उनको आत्मा’ कहिले पोलेर खाए, खाए ! यो त्यतिबेलैदेखि सुरु भयो जव तिनले उनको ‘बहुदलीय जनवाद’को ’रुप पक्ष’लाई सिद्धान्तको सार र शास्वत पक्ष भनेर भाष्य बाँड्न थाले । अर्को दुःखद पक्ष यस बीचमा उग्रवामपन्थी भड्कावले पनि सम्यक पाठ सिक्न सकेन । सुखद कुरा, यस आन्दोलनका दुई ठूला धार एमाले र माओवादी एकीकृत भ’का पनि हुन्, त्यसले यस वामपन्थी आन्दोलनलाई मुलुकको राजनीतिक शक्ति सन्तुलनमा सर्वाधिक शक्तिशाली शक्तिको रुपमा स्थापित पनि गर्यो । तर त्यस एकताले अल्पायुमै मृत्युवरण गर्नुपर्यो ।

नेतृत्वमा रहेको स्वेच्छाचारिता, महत्वाकांक्षा र कुन्ठाले, उसमाथि अरुको उलामालाले हुनुहार गर्यो–आन्दोलन आफैंले भने खुम्चिनु पर्यो, शक्ति सन्तुलन आफ्नो विपक्षमा फेरियो । आन्दोलनले धक्का खायो, भित्री बाहिरी शक्तिलाई खुँदो पल्टियो, राजनीतिक अस्थिरता बढायो र मुलुकलाई अनिश्चयको गर्तमा धकेली दियो । यो सब यस आन्दोलन भित्र आफ्नो सामाजिक मिसन र ध्येयसँग मेल नखाने संगठनात्मक प्रणालीको संरचना, संस्था र विधिप्रणालीले निम्त्याएको करामत हो । अन्तरपार्टी जीवनमा यसले अनुसरण गरेको र कस्दै लगेको ‘निर्देशित प्रजातन्त्र’ले सुधारको आन्तरिक उर्जालाई नै निस्तेज गरेको छ । यस प्रणालीले निस्कन्टक अधिनायक बन्ने र विभाजनकारी प्रतिवादको अन्तरविरोध पुरुत्पादन गर्ने न हो । यो प्रणाली नै दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावको मुहान हो ।

फेरि पनि यस आन्दोलनको सामाजिक आधार बलियो छ । अहिले यो आफैंभित्र भने उद्विग्न र उद्वेलित छ–कहाँ गल्ती भयो, कसरी सच्चिने र कसरी पुनर्जीवन प्राप्त गर्ने ?! त्यसको निम्ति सम्यक ‘प्रज्ञा’ र सम्यक ‘साधना’ चाहिन्छ । व्यक्तिवादी अधिनायकवादी संरचनाका ठाउँमा सामूहिक नेतृत्व र सामुहिक सुझबुझमा चल्ने र संस्थागत विधिको ‘धर्म’ अनुसरण गर्ने लोकतान्त्रिक संरचनाको पुनस्र्थापना पहिलो शर्त हो । विगत ७५ वर्ष भित्र यस आन्दोलन्ले हासिल गरेका राम्रा उपलब्धी र यस बीचमा देखापरेका कमजोरी र विसंगतिको सघन आत्मसमीक्षा हुनु जरुरी छ, त्यो पनि तलैदेखि । विभाजित तथा छितरिएको यस आन्दोलनको पुनःएकीकरण, व्यक्ति विशेषका निर्घिणी स्वार्थहरुको समायोजनबाट होइन आदोलनको ध्येय र मिसनको हितसँग गाँसिएको एकता यस आन्दोलनको पुनःजीवनको निम्ति उत्तिकै जरुरी छ । यस आन्दोलनलाई निस्तेज गर्न बडो चलाकीका साथ आन्दोलन भित्रै पसेर चौतर्फी भइरहेको हमला अबोधगम्य छैन । यस आन्दोलन भित्र आएको विचलन र यसको विघटनबाट रणनीतिक लाभ लिन भित्री बाहिरी शक्ति खुलेरै लागेको कुरा कसैसँग छिपेको छैन पनि । दुःखद कुरो त यत्रो हमलालाई नजरअन्दाज गरेर आफ्नो दुनो सोझ्याउन निर्लिप्त भएको नेतृत्वदेखि मौलाउँदै गएको दीर्घ रोग नै हो ।

यो आन्दोलन विचलित हुँदा र कमजोर हुँदा हुने भनेको समृद्धिका साथ लोकतान्त्रिक समाजवादी समाज निर्माणको जनताको चीर आकांक्षा र सपनाको तुषरापात हो । यसको अधोगतिबाट उत्पन्न खाली ठाउँ भर्न दक्षिणपन्थी शक्तिहरु बडो उत्साहका साथ लागिपरेका छन् । यसर्थ पनि, भित्री बाहिरी चुनौतीसँग जुझ्न र लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय हितको संरक्षण र सामाजिक न्यायको प्रवद्र्धनको निम्ति यसको पुनः एकीकरण अरु कुनै बेलाको भन्दा जरुरी छ । अहिले यस आन्दोलनलाई नेतृत्वका बफादार चेला भन्दा सत असत छुट्याउने आलोचनात्मक चेत भ’का सामाजिक मिसनका निष्ठावान नेता कार्यकर्ताको हस्तक्षेप जरुरी छ । चुनौती जो छ लरतरो छैन । मदन भण्डारीको स्मृति यसर्थ पनि विशेष अर्थ राख्दछ । नेपाली कम्युनिष्ट आन्दोलन सानो दुःखले आर्जेको होइन, यसको श्रीवृद्धिको निम्ति धेरैको रगत पसिना बगेको छ । श्रद्धा सुमन कमरेड मदन भण्डारी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *