फेवातालको पुनः सीमाङ्न गरी गाडिए ३६० सीमा स्तम्भ

कास्की । पर्यटन राजधानी पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको ताल घरमा आजसम्म ३६० वटा सीमा स्तम्भ(पिल्लर) गाडिएका छन् ।

सर्वोच्च अदालतको आदेशानुसार फेवातालको पुनः सीमाङ्न गरी अहिले सीमा स्तम्भ गाड्ने काम भइरहेको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले जानकारी दिए ।

पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा गत जेठ १७ गतेदेखि तालको किनारमा सीमास्तम्भ गाड्न सुरु भएको थियो।फेवातालको भकुन्डे माछा पोखरी क्षेत्रमा आज पिल्लर गाड्ने कार्यको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निरीक्षण समेत गरेएका छन् ।

निरीक्षणका क्रममा उहाँले फेवाताल संरक्षणका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको आदेशाानुसार महानगरपालिकाले सम्बद्ध निकायहरूसँग समन्वय गरी आवश्यक कार्यहरू गरिरहेको बताए।ताल घरमा सीमा स्तम्भ गाड्ने कार्यमा खटिएका सर्वेक्षक, प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उनले हौसला प्रदान गरेका छन् ।

“एक ऐतिहासिक कार्यको साक्षीका रूपमा हामी यहाँ छौँ।यसमा सबैको योगदान अतुलनीय रहेको छ।पोखराको गहनाका रुपमा रहेको फेवातालको संरक्षण गर्दै यसलाई सौन्दर्यकरण गर्नका लागि महानगर प्रतिवद्ध छ”, आचार्यले भने ।

महानगरका अनुसार पहिलो चरणमा ताल घरमा सीमा स्तम्भ गाड्ने र दोस्रो चरणमा थप काम सुरुआत गर्ने योजना छ।पछिल्लो अध्ययन अनुसार तालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर (१२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम) कायम भएको छ।

फेवातालको चार किल्लामा एक हजार ५५ पोलहरू गाडिनेछन्।यसले पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्त्व राख्ने विश्वास गरिएको महानगर प्रमुख आचार्यले बताए।

सर्वोच्च अदालतले विसं २०८० असार ४ गते फेवाताल किनारदेखि ६५ मिटरसम्मका सबै संरचना हटाउन नेपाल सरकार, प्रदेश सरकार र पोखरा महानगरपालिकाको नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो ।

वर्षायामको उच्चतम पानीको विन्दुदेखि ६५ मिटरसम्मको क्षेत्रलाई मध्यवर्ती हरियाली क्षेत्र घोषणा गरेर सबै अस्थायी र स्थायी संरचना हटाउन आदेश गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *