गोरखा । मनास्लु हिमालको फेँदमा आयोजित सातौँ नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको उपाधि सामा मनास्लु फुटबल क्लवले जितेको छ । प्रोक फुटबल क्लबको आयोजनामा समुद्री सतहबाट ३५०० मिटर उचाइमा अवस्थित चुमनुब्री-२ स्यालामा सम्पन्न प्रतियोगिताको आज भएको फाइनलमा ल्हो पेमा सम्भवा ‘ए’लाई १-० गोलअन्तरले हराउँदै सामा मनास्लुले उपाधि जितेको हो ।
बिजेता सामा मनासलु रु एक लाख ३० हजारसहित ट्रफी, पदक र प्रमाण प्राप्त गरेको नुब्री मनास्लु कपका उपाध्यक्ष लाक्पा दोर्जेले बताउनुभयो । उपबिजेता ल्हो पेमा सम्भवा ‘ए’ले रु ६५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा तेस्रो स्थानमा रहेको सफल सामा युथ फुटबल क्लवले रु ३५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । साथै प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको थियो ।
ल्हो पेमा सम्भवा ‘ए’का उर्गेन लामा प्रतियोगिताका उत्कृष्ट खेलाडी हुनुभयो । प्रतियोगितामा छ गोल गर्नुभएका सामा मनासलु फुटबल क्लवका पेमा नोर्बु सर्वाधिक गोलकर्ता बने भने सोही क्लबका पासाङ नोर्कु लामा उत्कृष्ट गोलरक्षक बन्नुभयो । साथै ल्हो पेमा सम्भवा ‘बि’ फेयर टिम बन्दै रु छहजार पुरस्कार प्राप्त ग¥यो ।
महिलातर्फको उपाधि स्याला ‘ए’ले हात पा¥यो । आजै भएको फाइनलमा सामा गर्ल्स एफसीलाई ४-० को फराकिलो गोलअन्तरले हराउँदै स्याला ‘ए’ बिजेता बनेको हो । विजेताले रु १८ हजार र उपविजेताले रु १० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ तीन टिमले सहभागिता जनाएका थिए । बिजेताहरुलाई प्रोक फुटबल क्लबका संस्थापक सोनाम दोर्जे रिम्पोछेले पुरस्कार वितरण गरे ।
उत्तरी गोरखा हिमाली भेगका युवाहरुबीच मेलमिलापको भावना विकास गर्न लामा गुरु सोनाम दोर्जे रिम्पोछेले पहिलो पटक २०७३ सालबाट नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको आयोजना गर्नुभएको थियो । त्यसयता प्रत्येक वडाले आलोपालो प्रणालीमा प्रतियोगिता आयोजना गर्दै आएका छन् । प्रतियोगिताको आठौँ संस्करण बिही फुटबल क्लवले आयोजना गर्ने भएको छ ।