काठमाडौँ । सरकारको यस वर्षको राष्ट्रिय धान दिवसका लागि ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ । खाद्य सुरक्षाको लागि धानको उत्पादन वृद्धि गर्न यस्तो नारा तय गरिएको हो ।
कृषि विभागले २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने क्रममा यही असार १५ गते जलवायु अनुकूलित प्रविधिको अनुसन्धान तथा धानको उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
खुमलटारमा रोपाइँ, कृषकलाई सम्मान, रैथाने बालीको संरक्षण, प्रविधिको प्रचारप्रसार, जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परेको असर न्यूनीकरणका लागि विज्ञसँग अन्तरक्रिया कार्यक्रमको तयारी गरेको हो ।
विभागका महानिर्देशक प्रकाश सञ्जेलले कृषक र अन्य सम्बद्ध पक्षलाई धान उत्पादन एवं उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षामा किसानलाई जागरूक बनाउने योजना रहेको जानकारी दिए ।
मुलुकको आर्थिक विकास, समाजिक, सांस्कृतिक र धार्मिक परम्परामा समेत प्रयोग गरिने धान प्रमुख खाद्यान्न बाली हो । औसत नेपालीको जीवन निर्वाह गर्ने अन्नका रूपमा लिइन्छ ।
महानिर्देशक सञ्जेलले धानको विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले विसं २०६१ असार १५ देखि प्रत्येक वर्ष राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गरिँदै आएको बताए ।
आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएकामा आव २०८१/८२ मा धानको उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन भएको थियो ।
आव २०८०/८१ मा १४ लाख ३८ हजार ९८९ हेक्टरमा धान रोपिएकामा आव २०८१/८२ मा १४ लाख २० हजार ६३६ हेक्टरमा धान रोपाइँ भएको थियो ।
धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमी आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले धानको कूल उत्पादन बढेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । रासायनिक मल, उन्नत जातको बीउ र समयमा वर्षा हुँदा धान उत्पादन बढेको जनाइएको छ ।