काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग अदालतले धरौटी मागेको छ । बुधबार विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
नेपाल बुधबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए । काभ्रेमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते नेपालसहित ९३ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।
नेपालका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी, खम्मबहादुर खाती, गोविन्द बन्दी, रमण श्रेष्ठ र टिकाराम भट्टराईले बहस गरेका थिए।
उनीहरूले पतञ्जली प्रकरणमा नेपाल निर्दोष रहेको जिकिर गर्दै अदालतले बोलाएका बेला उपस्थित हुने गरी छोड्न माग गरेका थिए ।
अख्तियारका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र सरकारी वकिलहरूले बहस गरेका थिए। उनीहरूले नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए।




