-नारायण पौडेल ।
नेपालभन्दा ६ गुणा सानो देश इजरायल मध्यपूर्वको सुपरपावर जस्तो देखिएको छ । उसले छिमेकी देशमा मात्र नभएर सयौं माइल परको इरानसँग जेहाद छेडेको छ । अमेरिका लगायतका पश्चिमा देशको साथले इजरायल हौसिएको छ । इजरायली आक्रमणमा प्यालेष्टाइन ध्वस्तप्रायः हुँदा पनि मानव अधिकारको कुरा गर्ने देशहरुले उसलाई दवाव दिएका छैनन्, साथै दिइरहेका छन् । यसमा धेरै पक्ष हुन सक्छन् । एउटा महत्वपूर्ण पक्ष भनेको यहुदीहरुको विश्वव्यापी अपनत्व हो ।
विश्वमा यहुदीको संख्या सालाखाला पौने २ करोड छ । इजरायलमा ७२ लाख छन् । अमेरिकामा ६५ लाख जति । त्यसपछि फ्रान्स, क्यानडा बेलायत लगायतका देशमा यहुदीहरुको बसोबास छ । यहुदी जहाँ बसेपनि जहाँ रहेपनि इजरायलका नागरिक हुन्, उनीहरुले चाहेका बखत इजरायली बन्न पाउँछन् भन्ने इजरायली नीति छ ।
यो नीतिका कारण विश्वभरका यहुदी आफूलाई इजरायली सम्झन्छन् । आफ्नो सिप, ज्ञान, सूचना, धन इजरायलको पक्षमा प्रयोग गर्छन् । अमेरिकाकै कुरा गर्ने हो भने यहुदीहरु सबैभन्दा राम्रो कमाइ गर्नेमा पर्छन् । सिआइएदेखि पेन्टागन, कंग्रेसदेखि इन्डष्ट्री–सबैतिर उनीहरु नेतृत्वदायी भूमिकामा छन् । उनीहरुको झुकाव वा प्रभावले अमेरिका चाहेर वा नचाहेर इजरायलको इच्छामा चल्दछ । No More War को नारासहित चुनाव जितेका ट्रम्प नेतान्याहूको जोडबलमा ‘इरान वार’मा पुगेका छन् । ज्ञान र सिपमा यहुदीहरु अग्रणी छन् । यहुदी जनसंख्या विश्वको ०.२ प्रतिशत मात्रै हो । मात्र ०.२ । तर नोबेल पुरस्कार विजेता मध्ये २२% यहुदी छन् । हामीले वर्षौंदेखि पढ्दै आएका माक्र्स, आइन्स्टाइन, सिग्मण्ड फ्रायडदेखि फेसबुकका सिइयो जुकरबर्गपनि यहुदी हुन् । यहुदीको हातमा विश्वको ज्ञान/सूचना यो या त्यो हिसाबले संग्रहित छ । यसको फाइदा इजरायलले उठाएको छ ।
हामी नेपाली पनि विश्वभर छरिदै छौं । विदेशिएका नेपालीलाई पुस्तौंसम्म नेपालसँग जोडेर उनीहरुबाट लाभ लिन सकिन्छ । तर, विदेशिएको नेपालीलाई कांग्रेस, एमाले, माओवादी, राजावादी चाहिँ बनाइरहने तर नेपाली रहन नदिने नीति दलहरुको देखिन्छ । यस्तै दोक्ला नीति रहिरहे दोस्रो पुस्तादेखि नेपालसँगको साइनो टुट्छ । पहिलो पुस्ताले त चाहेर पनि नेपाल भुल्दैन, किनकी उसमा कि कांग्रेस घुसेको छ, कि एमाले कि अर्को ।
(पत्रकार पौडेल अमेरिकामा बस्छन् ।)