इरानबाट ११ नेपाली भोलिसम्म भारत आइपुग्ने

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले इजरायल र इरानबाट नेपालीको उद्धारका लागि तयारी भइरहेको जानकारी दिएकी छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा मन्त्री राणाले इरानबाट भारत सरकारको सहयोगमा ११ नेपालीको उद्धार गर्न लागिएको जानकारी दिइन् ।

उनले पाँचजना नेपाली जेलमा रहेका र उनीहरुको पनि उद्धारका लागि पहल भइरहेको बताइन् । उनले मंगलबारसम्म ११ नेपाली भारत आइपुग्ने बताइन् ।

उनले नेपाल सरकारले इजरायल र इरानबीचको उत्पन्न तनाव र त्यसको संभावित प्रभावलाई अत्यन्त गम्भीरताका साथ लिएको बताइन् ।

उनले विदेशस्थित नेपाली दूतावासहरूलाई नेपाली नागरिकको सुरक्षाका लागि समन्वय गर्न निर्देशन दिइएको र अनलाइन पोर्टल खोलेर नेपालीहरूको विवरण लिन सुरू गरिएको जानकारी दिइन् । उक्त पोर्टलमा हालसम्म ८८५ जनाले विवरण दर्ता गरेका र अरुको पनि दर्ता गर्ने क्रम पनि जारी रहेको बताइन् ।

उनले हमासले बन्धक बनाएर राखेको भनिएका नेपाली नागरिक विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको जानकारी दिइन् ।

उनले विपिनको रिहाइका लागि प्रयासरत रहेको सदनलाई जानकारी गराइन् । उनले भनिन्, ‘विपिन जोशीको रिहाइका लागि हामीले सक्दो प्रयास गरेका छौँ । सम्माननीय प्रधानमन्त्री स्वयंले इजिप्टका राष्ट्रपतिलाई फोनमार्फत अपील गर्नुभएको छ । सभामुख देवराज घिमिरेले अरब संसद्का अध्यक्षलाई सम्बोधन गर्दै पत्र लेख्नुभएको छ । मैले कतार, संयुक्त अरब इमिरेट्सका परराष्ट्र राज्यमन्त्रीहरू, एजिप्ट टर्की र इरानका परराष्ट्रमन्त्रीहरू पत्र लेखी अनुरोध गरेँ । तर अहिलेसम्म उहाँको स्थिति पत्ता लागेको छैन । हामीले भगवानसँग प्रार्थना गरौँ नेपालका छोरा विपिन जोशी सकुशल छन् । कुनै दिन नेपाल फर्किनेछन् भन्ने आशामा छौँ ।’

उनले जोशीको खोजीमा हार मान्न नहुने बताइन् । परराष्ट्रमन्त्री राणाले विदेशमा रहेका नेपाली दूतावास यहाँका वडा कार्यालयजत्तिको पनि नभएको बताइन् ।

उनले भनिन्, ‘हाम्रा दूतावास वडा कार्यालयजत्तिकै पनि छैनन् । जापानमा जाँदा म डिप्रेस्ड भएर आएँ । कुखुराको खोरभन्दा सानो दूतावास रहेछ । बस्ने ठाउँ पनि छैन । धेरै वडा कार्यालय एकदमै राम्रा छन् तर दूतावास त्यत्तिका पनि छैनन् । जापानको राजदूतावास अलि राम्रो पनि हुनुपर्छ । दिल्ली र बेइजिङको दूतावास मर्मत गर्न भनेर पैसा हालेका छौँ ।’

गैरआवासीय नेपालीको ज्ञान, सीप एवं पुँजीलाई नेपालको विकासमा लगाउन तथा निजी क्षेत्र र सरकारी निकायहरूसँग जोड्ने सन्दर्भमा परराष्ट्र मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ थियो ।
क्रोयसियामा ३१ मे महिनामा सवारी दुर्घटनामा मृत्यु भएका रवि महतो सुरीको शव नेपाल ल्याउन अपुग भएको रकम वैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराउने सहमति भइसकेकाले यथाशीघ्र शव नेपाल ल्याउन दूतावासले आवश्यक प्रक्रिया अगाडि बढाएको उनले जानकारी गराइन् ।

मन्त्री राणाले मन्त्रालयले आर्थिक कूटनीतिलाई परराष्ट्र नीतिको एक प्रमुख आधार मानेर विदेशस्थित नियोगहरूलाई व्यापार, वैदेशिक लगानी, पर्यटन तथा प्रविधि प्रवद्र्धनमा सक्रिय बनाउँदै आएको बताइन् ।

मन्त्रालयले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखी सबै नियोगहरूलाई यसको प्रवद्र्धनका लागि स्पष्ट कार्यादेश दिएको उनको भनाइ थियो । यस विषयमा समन्वयका लागि मन्त्रालयमा छुट्टै आर्थिक कूटनीति महाशाखा नै गठन गरिएको र उक्त महाशाखामार्फत देशगत रणनीति बनाई प्रभावकारी आर्थिक कूटनीति सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्री डा राणाले बताइन् ।

सांस्कृतिक र पर्यटन कूटनीति एवं नेपाल प्रवद्र्धन गर्न नियोगहरूबाट विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको र यी प्रयासहरूलाई अझ सशक्त रूपमा विस्तार गर्ने योजना रहेको उनको भनाइ थियो ।

अतिकम विकसित मुलुकबाट स्तरोन्नतिलाई सहज र दिगो बनाउन यससम्बन्धी रणनीतिलाई विकास साझेदारलगायत सरोकारवाला निकायहरूसँग समन्वय गरी प्रभावकारी कार्यान्वयन गर्ने विषयमा मन्त्रालयले आवश्यक कार्य गरिरहेको जनाएको छ ।

‘राजदूतहरूको नियुक्ति ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५’ र प्रचलित नियम कानुनअनुसार भइआएको छ । साथै, श्रम सहचारीका सम्बन्धमा प्रचलित कानुनबमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट नै छनोट भई आएकालाई पठाउने गरिएको छ,’ मन्त्री डा राणाले भनिन्, ‘मन्त्रालय वा अन्तर्गतका कतिपय कामहरूको नतिजा तत्काल नभई दीर्घकालमा मात्र देखिन्छ । न्यूनतम जनशक्ति र स्रोतसाधनमा पनि हाम्रा मन्त्रालय र अन्तर्गतका निकायहरूले अत्यन्त महत्वपूर्ण सेवा प्रदान गर्दै आइरहेको छ ।’

उनले हालै परराष्ट्र मन्त्रालयले गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणपश्चात् नियोग तथा कर्मचारी सङ्ख्यामा वृद्धि भएको र हाल मन्त्रालयले संस्थागत क्षमता विकासलाई प्राथमिकतालाई केन्द्रमा राखी कार्यक्रम अगाडि बढाएको बताइन् ।

यस अतिरिक्त, मन्त्रालयले संस्थागत अभिलेख अभिवृद्धिका लागि डिजिटल आर्काइभिङ, तथ्याङ्क व्यवस्थापनलगायत कामलाई प्राथमिकतामा राखेको उनले बताइन् ।

मन्त्री डा राणाले मन्त्रालय र अन्तर्गतको आगामी आवको कुल बजेटमा केही वृद्धि भएको  देखिए पनि पुँजीगतबाहेक अन्य शीर्षकको बजेट चालू आवभन्दा घटेको अवगत गराइन् ।

बदलिँदो विश्व परिवेशअनुरूप अन्तर्राष्ट्रिय सम्बन्धको विकास तथा आर्थिक कूटनीति प्रवद्र्धनलगायत मन्त्रालय र अन्तर्गतको क्षमता अभिवृद्धिलाई थप प्रभावकारी बनाउन पर्याप्त स्रोतको सुनिश्चितता हुनु आवश्यक रहेको उल्लेख गर्दै उनले विनियोजित बजेटलाई प्राथमिकताका आधारमा सही सदुपयोग गर्ने प्रतिबद्धता जनाइन् ।

परराष्ट्र मन्त्रालय र अन्तर्गतका निकायहरूबाट राहदानी, कन्सुलरलगायत सेवा प्रदानबापत यस आर्थिक वर्षमा हालसम्म आठ अर्ब १० करोड ३६ लाख ७५ हजार राजस्व सङ्कलन भएको र कुल छ अर्ब ७८ करोड ५१ लाख खर्च भएको जसमा पुँजीगततर्फको बजेटको ५० दशमलव ९ प्रतिशत रकम खर्च भएको उनले बताइन् ।

साथै बदलिँदो परिस्थितिसँगै नेपालको राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितमा आँच आउन नदिन मन्त्रालय सजग रहेको उल्लेख गर्दै उनले आवश्यकतानुसार सम्बन्धित सरोकारवाला मन्त्रालय र निकायहरूसँग नियमित सम्पर्क र समन्वयमा रहेको जानकारी गराइन् ।

यसैगरी, परराष्ट्र सम्बन्धमा राष्ट्रिय सहमतिसहित नेपालको भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने विषयमा सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *