माननीय रमेश लेखक,
तपाईंले आफ्नोविरुद्ध उजुरी लेखाउनेलाई कारबाही गर्छु भनेकै घडीबाट तपाईंको गृहमन्त्रीत्वको औचित्य सक्कियो । तपाईं सरल इमानी मान्छे हो । मलाई अझै त्यस्तै लाग्छ । तर मन्त्री पद हाँक्न त्यतिले पुग्दैन । व्यवस्थापकीय अनुगमनकारी चातुर्य अद्यावधिक र सिर्जनात्मकता पनि चाहिन्छ । हो यो मामिलामा तपाईँ विल्कुल कमजोर देखिनु भयो । तपाईँको बाध्यता तपाईँ जान्नुहोस् ।
अख्तियारले ९–९ पटक लेख्दा पनि अटेर गर्ने, अध्यागमनका हाकिम उपर कारबाहीको सुइँको पाउनासाथ मन्त्रालय तान्ने, अनुसन्धानरत प्रहरीको सरुवा गर्ने अनि होहल्ला भएपछि फिर्ता गर्ने मान्छेले अनेक छानबिन अनुसन्धान निकायको सर्वोच्चाधिकारीले आफ्नै विरुद्धको छानबिनलाई निष्पक्ष हुन देला र ? भन्ने आशंका ब्याप्त हुने गल्ती तपाईँको मन्त्रालयबाट भइसकेको छ।
मलाई थाहा छ, मन्त्रालयको चिठी तपाईंले बुझ्ने होइन । यो पनि थाहा छ,सबैभन्दा स्वच्छ हिसाब घुसको बाँडफाँटमा हुन्छ । आनापाई ज–जसले जति पाउने हो त्यति पाउँछन् । पहिलेकाले केके गरे त्यही हुँदोरहेछ भनेर फुर्सद लिनु जाति हुँदैन । तपाईँले राजनीतिमा बग्न होइन त्यसलाई सपार्नमा जीवन खर्चिनु भएको छ । यत्रो लफडा उदाङ्गो हुँदा पनि गृह मन्त्रालयमा हुनुपर्ने आमूल परिवर्तनको कुनै छेकछन्द तपाईंले देखाउन सक्नु भएको देखिएन ।
मुख्यचिवको नेतृत्वको छानबिनको नौटंकीले तपाईँको व्यक्तित्वलाई अझ खस्काउने हो । ठूला नेताको स्वार्थमा तपाईँ जस्तो लामो रेसको घोडा अल्झिनु हुन्न । लालबहादुर शास्त्रीको तपाईं पनि प्रशंसक हुनुहुन्छ । उनी रेल मन्त्री हुँदा रेल दुर्घटना हुँदा उनले मन्त्री पद त्यागे । केशरबहादुर विष्ट खेल मन्त्री थिए । दशरथ रङ्गशालाको भगदौडको नोक्सानी पछि उनले पदत्याग गरे । जसको जस अझै पाइराखेका छन् । त्यो खेलको आयोजक उनको मन्त्रालय थिएन,न त त्यहाँको सुरक्षाको जिम्मा नै उनको थियो।
तपाईँको भलो चाहने,
सुबोधराज प्याकुरेल ।