काठमाडौं । भारतको उत्तराखण्डको काशिपुरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार गरिएको छ । उत्तराखण्ड प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाको सहयोगमा असार ५ गते उनीहरुको उद्धार गरिएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाका युवाहरुलाई भारतको उत्तराखण्डको काशिपुरमा बोलाई बन्दी बनाएर कुटपिट र यातना दिएको खबर सार्वजनिक भएपछि परराष्ट्र मन्त्रायले उद्धारका लागि पहल गर्न दूतावासलाई निर्देशन दिएको थियो ।
उक्त घटनासँग सम्बन्धित केही व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ ।
त्यसैगरी उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका, थप नेपाली युवाहरुको खोजी र उद्धार कार्य जारी रहेको छ । साथै उद्धार गरिएका व्यक्तिहरुलाई कानूनी प्रक्रिया सम्पन्न भएपछि नेपाल पठाइने दूतावासले जनाएको छ ।