विद्यालय तहका पाठ्यक्रममा यौन शिक्षा आवश्यक

काठमाडौँ । यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यालय तहबाट शिक्षा दिन सके यसको अभावमा आउनसक्ने समस्या समयमा समाधान गर्न सकिने सरोकारवालाहरूले बताएका छन् ।

सीप सूचना समाज (सिसो), नेपाल र प्लान इन्टरनेसनल नेपालको सहकार्यमा आयोजित ‘यौन तथा प्रजनन स्वास्थ्य अधिकार’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमका सहभागीले यौन तथा प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउन नसकिएको भन्दै पाठ्यक्रममा आधारित बृहत्तर यौन शिक्षाको आवश्यकता औंल्याएका हुन् ।

सिसो नेपालका कार्यकारी निर्देशक खुमानन्द सुवेदीले विद्यालय तहबाट यौन शिक्षा दिन सकिएमा यसबाट उत्पन्न हुने समस्याको निराकरण गर्न सहज हुने धारणा राखे ।

उनले यौन तथा प्रजनन शिक्षा सबै उमेर समूहका लागि आवश्यक पर्ने उल्लेख गर्दै किशोरकिशोरी केन्द्रित योजना कार्यान्वयनले यससम्बन्धी समस्या समाधानमा सकारात्मक भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।

उनले साङ्गीतिक कार्यक्रम अनिवार्य विषय बनाइराख्दा स्वास्थ्य शिक्षा भने ऐच्छिक राखिनु मनासिब नहुने बताए । उनले भने, “यौन शिक्षा अनिवार्य बनाइनुपर्छ । कानुनले व्यवस्था गरेका अधिकारका बारेमा युवा तथा किशारकिशोरीलाई केही जानकारी छैन । स्वास्थ्य शिक्षा विषयका शिक्षकको दरबन्दी छुट्याउनुपर्छ । पाठ्यक्रममा आधारित बृहत्तर यौनिकता शिक्षा आवश्यक छ ।”

यौन तथा प्रजनन स्वास्थ्य विज्ञ खेम कार्कीले यौन स्वास्थ्य सबैका लागि आवश्यक विषय भए पनि समाजमा आफ्ना समस्या खुलेर राख्न र बहस गर्न नसक्ने परिपाटी रहेको बताए ।

उनले यसबारे सचेतना फैलाउन, यौन स्वास्थ्य शारीरिक, मानसिक र सामाजिक रूपमा आवश्यक छ भन्ने बुझाउन सरोकार भएका निकाय, सञ्चरकर्मी, सञ्चारमाध्यमलगायतको सहकार्य र समन्वयमा पैरवी गर्नुपर्नेमा जोड दिए ।

उनले यौन तथा प्रजनन स्वास्थ्यका बारेमा आमनागरिकलाई बुझाउन नसक्दा कतिपय घरेलु हिंसा बढेका बताए । “अस्वस्थ्यकर जीवनशैलीले पनि मानिसमा यौन दुर्वलताको समस्या बढाइरहेको छ । यौन तथा प्रजनन स्वास्थ्यका विषयमा सामाजिक सङ्कीर्णता तथा गलत भाष्य व्याप्त छन्, यसलाई चिर्नुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *