दमक (झापा)। ढुङ्गा प्रहारबाट यहाँको कमल गाउँपालिकामा एक युवाको ज्यान गएको छ। यसरी ज्यान जानेमा कमल गाउँपालिका–४ का ३५ वर्षीय सूर्यविक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख राजन लिम्बूका अनुसार बिहीबार साँझ ५.३० बजे मृतक लिम्बू र सोही ठाउँका ३७ वर्षीय देवेन्द्र लावतीबीच एकापसमा विवाद भएको थियो। दुवैले मादकपदार्थ सेवन गरेका र झगडाका क्रममा देवेन्द्र लावतीको ढुङ्गा प्रहारबाट सूर्यविक्रम गम्भीर घाइते भएका थिए।
घाइतेलाई दमकको लाइफलाइन अस्पताल ल्याई सामान्य उपचारपश्चात थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएकामा उपचारका क्रममा आज मृत्यु भएको उनले जानकारी दिए। लावतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।