काठमाडौँ । काठमाडौँ महानगरले आजदेखि प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप २०८२ सुरु गरेको छ ।
कामपा वडा नं २२ ले आयोजना गरेको ‘हेल्दी बडी, हेल्दी सोसाइटी’ नारासहित आज र भोलि प्रतियोगिता सञ्चालन हुने वडाध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिए । वडाध्यक्ष महर्जनले प्रतियोगिता नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घसँगको सहकार्य र काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस सङ्घको प्राविधिक सहयोगमा गरिएको बताए ।
अरु खेलजस्तै शारीरिक सुगठन र व्यायामसँग सम्बन्धित खेलप्रति आकर्षण बढाउँदै खेलका माध्यमबाट आरोग्य जीवनका कार्यक्रम प्रवर्द्धन गर्न प्रतियोगिता गरिएको उनको भनाइ छ । आज पहिलो दिन खेलाडीको तौल मापन गरिएको वडा नं २२ का वडासदस्य अनिल हाडाले बताए । प्रतियोगितामा भाग लिन महानगर र अन्य जिल्लाका तर कामपामा अस्थायी बसोबास गर्दै आएका प्रतिस्पर्धीसहित ४२ जनाको सहभागिता छ ।
च्याम्पियनसिपमा ५५, ६०, ६५, ७०, ७५ र ७५ किलोग्रामभन्दा माथि तौल समूहमा प्रतिस्पर्धा हुने जनाइएको छ । च्याम्पियनसिप पुरुषहरूका लागि आयोजना गरिएको हो । क्रमशः महिलालाई पनि सहभागी गराउँदै लैजाने योजना छ ।
वल्र्ड बडी विल्डिङ फेडेरेसनका अन्तरराष्ट्रिय निर्णायक एवं च्याम्पियनसिपका संयोजक ईश्वर श्रेष्ठका अनुसार हरेका विधाका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः स्वर्ण र नगद रु ७५ हजार, रजत पदक र रु ५० हजार र कास्य पदक रु २५ हजार प्रदान गरिनेछ । पहिलो दिन आज मापदण्डबमोजिमको तौल मापन भएको र भोलि प्रिजजिङ र फाइनल हुने बताइएको छ ।
प्रत्येक तौल समूहका विजेता मिस्टर महानगरको दाबेदार हुनेछन् । यी दावेदारका बीचमा ‘ओभरअल’ प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धाका विजेता मिस्टर महानगर घोषित हुनेछन् । मिस्टर महानगरले तौल समूहको विजेता भएर रु ७५ हजार र ओभरअल प्रतिस्पर्धाका विजेता भएर पदकसहित रु पाँच लाख प्राप्त गर्नेछन् । शारीरिक सुगठन क्षेत्रको विकास र विस्तारमा योगदान गर्ने खेलाडीलाई सम्मान प्रदान गरिने पनि आयोजकले जनाएको छ ।