काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पाटीले संसद बैठक बहिष्कार गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपा सांसदहरु आआफ्नो ठाउँबाट उभिएर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले उनीहरुलाई बस्न आग्रह गरे पनि उनीहरुले मानेनन् ।
त्यसपछि सभामुख देवराज घिमिरे मन्त्रालयगत बजेटमाथिको छलफल सुरु गराएका छन् । त्यसपछि राप्रपा र रास्वपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका छन् । भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपा सदन अवरुद्ध गर्दै आएका छन् ।
रास्वपा सांसद मनिष झाले भने, ‘हामी प्रधानमन्त्रीज्यूलाई हाम्रो केही कुरा सुनाउन चाहन्थ्यौं तर उहाँले त्यो कुरा सुन्न चाहनुभएन । बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो । तसर्थ हामीले, आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र आफ्नो कुरा प्रधानमन्त्रीले नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं।’