पार्टी नेतृत्वको हस्तक्षेपले मुख्य दलका भातृ संगठनभित्र असन्तुष्टि चुलिँदै

काठमाडौं । बुधबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा जनसङ्गठन संयन्त्रको बैठक थियो । बैठकमा प्रमुख वक्ता थिए पार्टी उपाध्यक्ष एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल । बैठकलाई सम्बोधन गर्दै पौडेलले पार्टीमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताए । उनले एमालेमा केही समस्या भए पनि तिनलाई विधि, विधानको माध्यमबाट समाधान गरिने बताए । पौडेलले समकालीन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको दाबी समेत गरे । उनको भनाई थियो, ‘कतै पनि सग्लो पार्टी भेटिदैन । धोएको मूला जस्तो, गङ्गाजल जस्तो पार्टी भेटिँदैन । तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो । जे जस्ता समस्या पार्टीमा देखिन्छन् तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ ।’ उपाध्यक्ष पौडेलले पार्टी र जनसङ्गठनमा देखिएको शिथिलतालाई चिर्न सबै लाग्नुपर्ने बताए ।

एमाले निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ महाधिवेशनबाट डा. सुजन कडरिया अध्यक्षमा निर्वाचित भए । कडरियासँग प्रकाश पौडेल मात्र ७ मतले पराजित भए । कडरियाले ७३२ मत प्राप्त गर्दा पौडेलले ७२४ मत पाएका थिए । महाधिवेशनमा निर्वाचन नगरी टीका लगाउने ठूलै प्रपञ्च भएको थियो । तर अर्को पक्ष नमानेपछि निर्वाचन भयो । तर निर्वाचनमा संस्थापन पक्ष र अर्को पक्ष भनेर प्रचार गरियो । प्रकाश पौडेल पराजित भए ।

उपाध्यक्ष पौडेलले जनसंगठन संयन्त्रको बैठकमा भाषण गरेको केही घण्टापछि अनेरास्ववियुको महाधिवेशनमा पराजित प्रकाश पौडेलले सामाजिक संजालमा पार्टी नेतृत्वप्रति लक्षित गर्दै गम्भीर र चेतावनीयुक्त स्टाटस लेखे । उनले पार्टीमा जनताको बहुदलीय जनवाद मान्दै आफैं सोच्ने र निर्णय गर्ने अवस्थामा पुगिसकेको बताएका छन् ।

पौडेलले पार्टी संकटमा पर्दा गर्धन थापेका कार्यकर्ता निराश हुन थालेकासमेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘पार्टी संकटमा पर्दा गर्धन थापेका विचारको कलम बोकेका कार्यकर्ता भन्दैछन् तपाईंहरू त नबदलिनुहोला, तर समय र कार्यकर्ताहरू भने फराकिलो सोच राख्दै, जनताको बहुदलीय जनवाद मान्दै आफैं सोच्ने र निर्णय गर्ने अवस्थामा पुगिसकेका छन्।’

उनले यस्तै अवस्था रहे भोलि ‘मरें मरें’ भनेर गुहार माग्दा पनि कार्यकर्ताहरू आउन रुचि नराख्ने बताए । उनले भनेका छन्, ‘आजभोलि हाम्रो पार्टीका नेताहरूले सार्वजनिक मञ्चमा बोलेको सुन्छु—पहिले सिठी फुक्दा हजारौँ कार्यकर्ता भेला हुन्थे, तर आजभोलि त्यसो हुँदैन । अझै पनि यस्तै रवैया कायम राख्दै, आफ्नै कार्यकर्तालाई ‘आधिकारिक’ र ‘अनाधिकारिक’ भन्दै विभाजन गर्ने र स्वच्छ प्रतिस्पर्धाबाट वञ्चित गर्ने योजना अघि बढाइरहने हो भने, भोलि ‘मरे मरे’ भनेर गुहार माग्दा पनि कार्यकर्ताहरू आउन रुचि राख्ने छैनन्।’

प्रकाश पौडेलको यो भनाईमा धेरैले समर्थन जनाएका छन् । अनेरास्ववियुकै नेताहरुले कमेन्ट नगरेपनि लाइक गरेका छन् । प्रकाशको समर्थन गर्दै कुनै पनि राजनीतिक दल र नेताको झोले र अन्धोभक्त कार्यकर्ताले पार्टीका नेता र पार्टीलाई गलत बाटोमा हिँड्न प्रेरित गर्छ भने सच्चा कार्यकर्ताले पार्टी र पार्टीका नेताहरूलाई सही बाटोमा दोहोर्याउन मद्दत पुर्याउँछ तर त्यस्ता सच्चा कार्यकर्ताको लागि पार्टीमा ठाउँ हुँदैन । यही छ नि नेपाली राजनीतिको विडम्बना ! भन्दै लेखेका छन् । विष्णु पौडेलले एमाले नै कम आन्तरिक समस्या भएको पार्टी भएको दाबी गरेपनि प्रकाश पौडेलको भनाईबाट स्पष्ट हुन्छ कि पार्टीभित्र कति उकुसमुकस भइरहेको छ भन्ने ।

यो समस्या नेकपा एमालेमा मात्र होइन, कांग्रेस र माओवादीमा पनि कम छैन । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलमा नियमित महाधिवेशन नभएको नौ वर्ष भइसकेको अवस्था छ । जेठ २३ गते तरुण दलका कार्यकर्ताहरुले नियमित महाधिवेशनको माग गर्दै विरोध प्रदर्शन गरे । पार्टी कार्यालय सानेपाको अगाडि पुगेर उनीहरुले नौं वर्ष वितिसक्दापनि नियमित महाधिवेशन नभएको भन्दै नेपाल तरुण दलको केन्द्रीय तदर्थ समिति विघटनको माग गरे । तरुण दलका केन्द्रीय सदस्य रोजन राईको नेतृत्वमा प्रदर्शन भएको थियो । राईको भनाई थियो, ‘कुनै दल वा भातृ संगठन तदर्थवादको नाममा यति लामो समयसम्म रहनु भनेको आन्तरिक लोकतन्त्र कमजोर हुनु त छँदैछ अझ त्योभन्दा सिंङ्गो संगठन कमजोर बनिरहेको छ ।’

नेकपा माओवादी केन्द्रमा पनि भातृ संगठनलाई आफ्नो पक्षमा राख्न संस्थापन पक्षको ठूलै चलखेल देखिएको छ । भर्खर पार्टीको भातृ संगठन वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट पुष्प ओली अध्यक्ष चयन भए । नेतृत्व चयनको विषयलाई लिएर विवाद हुँदा सम्मेलन केही दिन लम्बिएको थियो । पार्टी अध्यक्ष प्रचण्डले अध्यक्ष चयनमा हस्तक्षेप गरे । उनले चुनाव नै गर्न दिएनन् । अन्ततः ओलीलाई अध्यक्ष बनाइयो । टीका लगाएर अध्यक्ष बनाएको भन्दै जनार्दन शर्मा पक्ष र प्रचण्ड पक्षका नेतावीच सामाजिक संजालमा आरोप प्रत्यारोप नै चल्यो ।

जनार्दन शर्मा पक्षका माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल शर्माले वाइसिएलको नेतृत्व चयनप्रति असन्तुष्टि जनाउँदै पार्टीले बन्धक बनाएको बताए । उनले सामाजिक संजालमा लेखे, ‘विधान पास गरेको केही घण्टा बित्न नपाउदै सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रबृतिले वाइसिएललाई पनि बन्धक बनाएरै छोडे । यसमा वाइसिएलको खासै दोष छैन । त्यसको जिम्मा लिने र पार्टीको नेतृत्वको कारण कति भिक्टिम भए त्यो त इतिहासको गर्भमै रहला । जे जसरी होस एउटा कमिटी बनेको छ कमरेड पुष्प वली नेतृत्वको वाइसिएल नेपाललाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’

शर्माले सामाजिक संजालमा यस्तो लेखेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले जनार्दन शर्माप्रति आक्रोश पोखे । उनले लेखे, ‘अनिलजी फ्याक्सर्नको हिसाबले म त चुनावमा लैजाने तयारीमा थिएँ । (नाताले तपाईको दाइ ) आदरणीयय नेता जनार्दन शर्माले पार्टी पदाधिकारी बैठक र अध्यक्षसँग वाइसिएल जस्तो संगठनलाई चुनामा लैजानुहुन्न भनि सहमति गरेको कुरा आएको छ । खास के हो ? अनि तपाईहरूको पक्षले खुमलटार पुगेर गरेका अन्य सहमतिबारे मलाई केही जानकारी कसैले गराईदिए हुने हो । मैले घुईरो–घुईरो सुनेको मात्रै छु । वाइसिएलमा घुनपुतली नलागेपछि तपाई र अन्य आसेपासेले आजबाट सुरू गरेको प्रचार निन्दनीय छ । यस्ता पानीमरूवा चाल चल्न छोडेर साच्चै लड्न आए हुन्छ । म माओवादीमा तपाईका दाइ जहाँ लड्छन् त्यहीँ चुनाव लड्न तयार छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *