युनान (कुन्मिङ) । मित्रराष्ट्र चीनको युनान प्रान्तको राजधानी कुन्मिङमा छदिने नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु भएको छ । चीनको वाणिज्य मन्त्रालय र युनान प्रान्त सरकारको संयुक्त आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी तथा मेलामा दक्षिण तथा दक्षिणपूर्वी एसियाका ६० भन्दाबढी देशका व्यवसायी सहभागी छन् ।
विशेषगरी यस क्षेत्रको व्यापार, विज्ञान प्रविधि, ऊर्जा, शिक्षा, स्वास्थ्य तथा संस्कृतिलगायत क्षेत्रसँग सम्बन्धित वस्तु तथा उत्पादन प्रवद्र्धन, विस्तारमा सहयोग पुर्याउने उद्देश्यले मेला आयोजना गरिएको हो । मेलामा कूल १७ वटा पभेलियनमा एक हजार २०० स्टलमध्ये १२० स्टलमा नेपाली व्यवसायीले हस्तकला, बुद्ध मूर्ति, चिया, कफीलगायतका वस्तु प्रदर्शनीमा राखेका छन् ।
‘साझा विकासका लागि ऐक्यबद्धता र समन्वय’ भन्ने मूल नाराका साथ सुरु भएको मेलाको उद्घाटन सत्रमा चिनियाँ कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य विङ मिङ, युनान प्रान्तका गभर्नर वाङ युगोसहित दक्षिण पूर्वी एसिया सम्बद्ध देशका शीर्ष नेताहरुले सहयोग र सहकार्यमा जोड दिएका थिए । उनीहरुले यस क्षेत्रका नागरिकको शान्ति, समृद्धि र उज्जवल भविष्यका लागि पारस्परिक लाभका आधारमा सहकार्य हुनुपर्ने धारणा व्यक्त गरे ।
त्यस अवसरमा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले प्राकृतिक तथा मानव स्रोतसाधनका कारण विकासको अत्यधिक सम्भावना रहेको दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरुबीचको सहकार्यमा जोड दिँदै वातावरण संरक्षण, पूर्वाधार विकास, अर्थतन्त्र सुधारसहित आर्थिक गतिविधि थप चलायमान बनाउन साझा प्रयास हुनुपर्ने धारणा व्यक्त गरे ।
जलवायु परिवर्तनका कारण नेपालसहित हिमाली मुलुक बढी प्रभावित भएका सन्दर्भमा नेपालले भर्खरै सगरमाथा संवाद कार्यक्रम आयोजना गरी विश्व जगतको ध्यानाकर्षण गरेको जानकारी दिँदै राजदूत ओलीले ऊर्जा, उद्योगधन्दा, पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गरी लाभान्वित हुन आग्रह गरे । नेपाल–चीनबीचको सम्बन्ध ऐतिहासिक एवं घनिष्ठ रहेको चर्चा गर्दै उनले कूटनीतिक सम्बन्ध ७० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रम गरी दुई देशको सम्बन्ध अझ प्रगाढ बनाइने बताए ।
युनान विश्वविद्यालयका विदेशी भाषा विभागअन्तर्गत नेपाली विषयका प्राध्यापक एवं पत्रकार भरत शर्माले एक हजार २०० भन्दाबढी स्टल भएको बृहत् अन्तरराष्ट्रिय व्यापार मेलामा १२० भन्दाबढी रहेका नेपाली व्यवसायीले पस्मिना, क्युरियो, लत्ताकपडा, चिया र कफीलगायतका सामान राखेको जानकारी दिए । नेपाली वेषभूषामा सजिएर सामान बिक्री तथा प्रचारप्रसारका लागि स्टलमा चिनियाँ सहयोगीका साथ रहेका नेपाली व्यवसायीहरुले यसअघिको तुलनामा उत्साहजनक रुपमा सहभागिता रहेको जारी प्रदर्शनीमा आर्थिक कारोबार बढी भइ लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौँस्थित ठमेलमा पस्मिना व्यवसाय गर्दै आएका जनकराज पाण्डेले प्रदर्शनीमा गत वर्षभन्दा ४० वटा बढी नेपाली स्टल रहेको जानकारी दिँदै स्थान अभाव र समयमै सम्पर्कमा नआएका कारण केही नेपाली व्यापारीले ठाउँ पाउन नसकेको गुनासो गरे । उनले अघिल्ला वर्षको तुलनामा यस वर्ष पस्मिनाको व्यापार बढी हुने अपेक्षा गरेका छन् ।