बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि आक्रमणको योजना अनुमोदन गरेका छन् । तर उक्त योजना कार्यान्वयनबारे उनले अझै निर्णय लिएका छैनन् । वाशिङ्टनमा मङ्गलबार राति उनले इरान हमलासम्बन्धी योजना अनुमोदन गरेको तर उक्त देशमाथि प्रहार गर्ने अन्तिम निर्णय भने उनले अझै नलिएको बीबीसीको अमेरिकी साझेदार सञ्चार संस्था सीबीएसले जनाएको छ ।
इरानले आफ्ना परमाणु कार्यक्रम त्याग्छ कि भनेर उनले पर्खिरहेको वरिष्ठ खुफिया सूत्रहरूले सीबीएसलाई बताएका छन् । इरानमाथि इजरायली हमलामा अमेरिकी संलग्नताबारे पत्रकारहरूले सोधेको प्रश्नमा ट्रम्पले अन्योलपूर्ण जवाफ दिए । ‘मैले गर्न पनि सक्छु, नगर्न पनि सक्छु,’ उनले भने ।
यसअघि सीबीएसले इरानको फोर्दोस्थित भूमिगत युरेनियम प्रशोधन केन्द्रमा हमला गर्नेबारे ट्रम्पले सोचविचार गरिरहेको जनाएका थिए । बुधबार राष्ट्रपति ट्रम्पले उनले अन्तिम घडीसम्म पर्खने अनि इरानलाई परमाणु अस्त्र विकास गर्न रोक्ने उद्देश्यले मात्र लड्ने बताएका थिए ।
ट्रम्पले इरानी वार्ताकारहरू ह्वाइट हाउस आउन चाहेको पनि बताएका थिए । इरानका सर्वोच्च नेताले आफ्नो देशले आत्मसमर्पण नगर्ने बताएका छन् ।
ट्रम्पका पछिल्ला टिप्पणीको प्रतिक्रिया दिँदै न्यूयोर्कस्थित इरानको राष्ट्रसङ्घीय नियोगले ’कुनै इरानी अधिकारीले ह्वाइट हाउसको ढोकामा नगिड्गिडाउने’ जनाएको छ । सामाजिक सञ्जाल एक्समा राखिएको टिप्पणीमा भनिएको छः ‘उनको झुटभन्दा बढ्ता घृणित काम उनले ‘इरानका सर्वोच्च नेता’को हत्याबारे दिएका धम्की हुन्।’
ट्रम्पले इरानका सर्वोच्च नेता कहाँ छन् भनेर अमेरिकालाई थाहा भएको र ‘तत्काल’का लागि उनलाई हानि पुर्याउन आफूले नचाहेको टिप्पणी गरेका थिए।