इरानविरुद्ध एमओपी प्रयोग होला ?

इरानका भूमिगत परमाणु केन्द्रहरूसम्म मार हान्न सक्ने अस्त्रहरूमध्ये प्रयोग नभएको एउटा अस्त्र छ, जुन हाल इजरायलसँग छैन। त्यो हो जीबीयू-५७ए/बी म्यासिभ ओर्डनेन्स पेनिट्रेटर। यो विश्वकै सबैभन्दा ठूलो गैरपारमाणविक सुरुङ ‘ध्वंसक बम” हाल संयुक्त राज्य अमेरिकासँग मात्र रहेको छ। तीस हजार पाउन्ड (१३,६०० किलोग्राम) तौल क्षमताको यो एकदमै ‘नियन्त्रित लक्षमारक’ बम इरानको भूमिगत परमाणु ऊर्जा प्रशोधन केन्द्र फोर्दो कम्प्लेक्ससम्म पुग्न सक्छ, जुन एउटा पहाडमुनि गहिराइमा रहेको छ।

अमेरिकाले म्यासिभ ओर्डनेन्स पेनिट्रेटर (एमओपी) मा अहिलेसम्म इजरेललाई पहुँच दिएको छैन। तर यो अस्त्र कस्तो हो, यसका चुनौती के छन् र के त्यो प्रयोग गर्न सकिन्छ त ? अमेरिकी सरकारका अनुसार जीबीयू-५७ए/बीले एकदम गहिराइमा र कडा चट्टानले घेरिएका बङ्कर तथा सुरुङसम्म मार हान्न सक्छ।

छ मिटर लम्बाइ भएको यो बम विस्फोट हुनुअघि करिब २०० फीट (६१ मिटर) गहिराइसम्म पुग्न सक्छ। हरेक विस्फोटनसँगै गहिराइसम्म ड्रिल गर्ने गरी एकपछि अर्को कैयौँ बम खसाल्न सकिन्छ। बोइङ कम्पनीले बनाएको एमओपी बम लडाइँमा कहिल्यै पनि प्रयोग भएको छैन। तर न्यू मेक्सिको राज्यस्थित अमेरिकी सेनाको परीक्षणस्थल ह्वाइट स्यान्ड्स मिसाइल रेन्जमा त्यसको परीक्षण गरिएको हो। यो बम म्यासिभ ओर्डनेन्स एअर ब्लास्ट (एमओएबी) भन्दा पनि शक्तिशाली हुन्छ।

एक्काइस हजार ६०० पाउन्ड (९,८०० किलोग्राम) तौल भएको एमओएबीलाई “मदर अफ अल बम्स” अर्थात् ‘सबै बमकी आमा’ भनेर पनि चिनिन्छ, जुन बमको प्रयोग सन् २०१७ मा अफगानिस्तान युद्धमा गरिएको थियो।

‘अमेरिकी वायु सेनाले एमओएबी आकारका अस्त्रको विकास गर्नका लागि महत्त्वपूर्ण प्रयास गर्‍यो, तर विस्फोटक चार्जलाई एकदम कडा धातुको आवरणभित्र राखियो। फलस्वरूप जीबीयू-५७ए/बी म्यासिभ ओर्डनेन्स पेनिट्रेटर तयार भयो,’ यूकेको ब्राड्फोर्ड विश्वविद्यालयस्थित शान्ति अध्ययनका प्राध्यापक पल रोजर्सले भने।

स्टेल्थ बम्बर भनेर पनि चिनिने यूएस बी-२ स्प्रिट विमानले मात्र एमओपी बोक्न सक्ने गरी बनाइएको छ। प्रायः बी-२ नामले चिनिने उक्त विमान नोथ्रोप ग्रुमेनले बनाएको हो र यो विमान अमेरिकी वायुसेनाका अत्याधुनिक विमानहरूमध्ये एउटा हो। निर्माताका अनुसार बी-२ ले ४० हजार पाउन्ड अर्थात्‌ १८ हजार किलोग्राम ‘पेलोड’ गर्न सक्छ।

यद्यपि अमेरिकी वायुसेनाका अनुसार उसले करिब ६० हजार पाउन्ड अर्थात्‌ २७ हजार २०० किलोग्राम तौल बराबरका दुईवटा जीबीयू-५७ए/बीको सफल परीक्षण गरेको छ। नोथ्रोप ग्रुमेनका अनुसार लामो दूरीको यो भारी बमवर्षक विमानको रेन्ज इन्धनबिना लगभग सात हजार माइल अर्थात्‌ ११ हजार किलोमिटरसम्म छ र उडानका क्रममा एक पटक इन्धन भरेमा साढे ११ हजार माइलसम्म हुन्छ, जसका कारण संसारको लगभग जुनसुकै स्थानमा केही घण्टाभित्रै यो पुग्न सक्छ।

प्राध्यापक रोजर्सका अनुसार एमओपीको प्रयोग इरानजस्तो आधुनिक हवाई प्रतिरक्षा प्रणाली भएको शत्रुविरुद्ध गर्ने हो भने बी-२ बमवर्षकसँगै सम्भवतः अरू विमान पनि प्रयोग गर्न सकिन्छ।

उदाहरणका लागि शत्रुको प्रतिरक्षालाई दबाउनका निम्ति एफ-२२ स्टेल्थ लडाकु विमानको प्रयोग गर्न सकिन्छ। त्यसपछि क्षतिको आकलन गर्न र थप कारबाही गर्न आवश्यक छ वा छैन भनी हेर्नका लागि ड्रोनको प्रयोग गर्न सकिन्छ। संयुक्त राज्य अमेरिकासँग सीमित मात्रामा एमओपी बमहरूको भण्डारण रहेको उनको अनुमान छ। ‘उनीहरूसँग १० वटा अथवा समग्रमा २० वटा त्यस्ता बमहरू हुन सक्छ,’ प्राध्यापक रोजर्सले भने।

इरानविरुद्ध एमओपी प्रयोग होला त ?

इरानको प्रमुख परमाणु प्रशोधन केन्द्र नतान्जपछि फोर्दो दोस्रो केन्द्र हो। दक्षिणपश्चिमी तेहरानदेखि करिब ९५ किलोमिटर टाढा पर्ने कोम सहरनजिकै रहेको पहाडमा उक्त परमाणु केन्द्र रहेको छ।

सन् २००६ को आसपासदेखि त्यसको निर्माण सुरु भएको बताइन्छ। सन् २००९ मा त्यो सञ्चालनमा आएको हो। सोही वर्ष तेहरानले त्यसको अस्तित्व स्वीकारेको हो। चट्टान र माटोमुनि अनुमानित ८० मिटर (२६०) गहिराइमा रहेको फोर्दो परमाणु केन्द्रलाई जमिनबाट हावामा प्रहार गर्न सकिने इरानी र रुसी क्षेप्यास्त्रहरूबाट सुरक्षा दिइएको छ।

सन् २०२३ को मार्चमा अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) ले उक्त केन्द्रमा युरेनिअम प्रशोधन शुद्धता ८३.७ प्रतिशतमा पुगेको फेला पार्‍यो। उक्त प्रशोधन तह अस्त्र निर्माणका लागि चाहिने बिन्दुबाट नजिक हो।

‘अस्तित्वमाथि खतरा उत्पन्न गराउने’ इरानको परमाणु क्षमतालाई नष्ट पार्ने इजरेलको घोषित लक्ष्यबाहेक इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अहिलेको सैन्य हमला त्यहाँ सत्ता परिवर्तनको कारक हुन सक्ने बताएका छन्।

‘यो सिङ्गो कारबाही…फोर्दोलाई ध्वस्त बनाएर मात्र पूरा हुनुपर्छ,’ अमेरिकाका लागि इजरेली राजदूतले   फक्स न्यूजसँग भने। तर एमओपी परिचालन गर्ने क्षमता इजरायलसँग छैन र अमेरिकाले आफ्नो प्रत्यक्ष संलग्नताविना त्यसको प्रयोग गर्न नदिन सक्ने प्राध्यापक रोजर्स बताउँछन्। ‘उनीहरूले निश्चित रूपमा इजरेलीहरूलाई त्यसो गर्न दिने छैनन् र इजरेलसँग त्यो आकारका पेनिट्रेटरहरू छैनन्।’

अमेरिकाले उक्त बमको प्रयोग गर्छ वा गर्दैन भन्ने कुरा मुख्यतः यो द्वन्द्वमा संलग्न हुने उसको इच्छामा निर्भर गर्ने छ- खास गरी राष्ट्रपति डोनल्ड ट्रम्पको नेतृत्वमा। प्राध्यापक रोजर्स भन्छन्, ‘यो वास्तवमा इजरेलीहरूलाई मद्दत गर्ने कुरामा ट्रम्पले पूर्ण झुकाव देखाउँछन् अथवा देखाउँदैनन् भन्नेमा निर्भर गर्ने छ।’

क्यानडामा जी सेभेनको शिखर बैठकका लागि पुगेका ट्रम्पलाई वाशिङ्गटनको सैनिक सहभागिताका लागि के हुनुपर्छ भनी सोधिएको जिज्ञासामा उनले भने, ‘म त्यसबारे कुरा गर्न चाहन्नँ।’ इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहिआएको र आफूहरूले परमाणु अस्त्र विकास कहिल्यै गर्न नचाहेको दोहोर्‍याउँदै आएको छ। तर ३५ राष्ट्र सदस्य रहेको आईएईएको बोर्ड अफ गभर्नर्सले २० वर्षयता पहिलो पटक इरानमाथि परमाणु अप्रसार सन्धिप्रतिका आफ्ना दायित्वहरूको उल्लङ्घन गरेको घोषणा गरेको थियो।

‘गेम चेन्जर’

इजरायलले इरानका परमाणु केन्द्रहरूमा पछिल्ला दिनहरूमा हवाई आक्रमणहरू गरे पनि निकै गहिराइमा रहेका ती केन्द्रहरूमा ‘कुनै हिसाबले क्षति पुर्‍याउन ऊ सफल भएको’ कुरामा प्राध्यापक रोजर्स विश्वस्त देखिँदैनन्। ‘त्यसका लागि एमओपी जस्तो केही चाहिन्छ, जुन कुरा उनीहरू आफैँले गर्न सक्दैनन्।’  अमेरिकास्थित आर्म्स कन्ट्रोल असोसिएशनको अप्रसार नीतिका निर्देशक केल्सी डाभेन्पोर्ट भन्छन्, ‘जबसम्म फोर्दो सञ्चालनमा रहन्छ, तबसम्म इरानले प्रसारका लागि जोखिम निम्त्याइरहने छ।’

तर इरानका परमाणु केन्द्रहरूको गहिराइ र तिनलाई कसरी सुरक्षा दिइँदै छ भन्ने कुरा ज्ञात नभएकोले एमओपीको प्रयोग गरिँदा पनि सफलताको सुनिश्चितता गर्न नसकिने प्राध्यापक रोजर्सको तर्क छ।

‘इरानको परमाणु क्षमतामा क्षति पुर्‍याउने यो विशेष अस्त्रसँग हाल उपलब्ध अरू अस्त्रहरूको भन्दा सबैभन्दा धेरै सम्भावना रहेको छ। तर त्यसले गर्न सक्ला- कसलाई थाहा छ र?’

-लुई बरुको

बीबीसी विश्व सेवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *