काठमाडौं । सरकारले इजरायल, इरान र मध्यपूर्वका मुलुकको भ्रमणमा नजान आग्रह गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरी जारी गरी द्वन्द्वका कारण ती मुलुकमा नजान आग्रह गरेको हो ।
मन्त्रालयले भनेको छ, ‘इजरायल र इरान बाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकहरुलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्नु।’
इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रम सर्वविदितै रहेको भन्दै मन्त्रालयले यसलाई मध्यनजर गर्दै कतिपय मुलुकहरुले आफ्ना नागरिकलाई इजरायल र इरान छोड्न अनुरोध गरेका तथा कतिपयले त्यहाँ रहेका नागरिकहरुलाई सुरक्षित रहन, समूदायमा सम्पर्कमा रहन, सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कता सम्बन्धी सूचना, जानकारी तथा निर्देशनहरु पालना गर्न र तोकिएको समय र स्थान बाहेक घरबाट बाहिर ननिस्कन अपील गरेका उल्लेख गरेको छ ।
यसैगरी, कतिपय मुलुकहरुले हालको सुरक्षा अवस्थालाई मध्यनजर गरी अत्यावश्यक कामबाहेक इजरायल र इरानको भ्रमण नगर्न सूचना समेत जारी गरेका मन्त्रालयले जनाएको छ ।