एमाले कम आन्तरिक समस्या भएको पार्टी होः उपाध्यक्ष पौडेल

काठमाडौं ।  नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीमा देखिएका समस्याको समाधान गर्न नेतृत्व सक्षम भएको बताएका छन् ।

एमाले जनसङ्गठन संयन्त्रको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले एमालेमा केही समस्या भए पनि तिनलाई विधि, विधानको माध्यमबाट समाधान गरिने बताए । पौडेलले समकालीन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको उनले बताए ।

‘कतै पनि सग्लो पार्टी भेटिदैन । धोएको मूला जस्तो, गङ्गाजल जस्तो पार्टी भेटिँदैन’ उनले भने, ‘तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो । जे जस्ता समस्या पार्टीमा देखिन्छन् तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ ।’

उपाध्यक्ष पौडेलले पार्टीको विधान महाधिवेशन नजिकिँदै गरेकोले त्यसको तयारीमा पार्टी लागि रहेको जानकारी दिए ।

‘विधान महाधिवेशन अघिल्लो विधान महाधिवेशनदेखि हालसम्म पार्टी सङ्गठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रुपमा नै सुधार गर्ने विधि तय गर्नेछौँ’, उनले भने, ‘केन्द्रीय कमिटीले विधानमा संशोधन गर्नुपर्ने विषयहरु प्रस्ताव गर्दछ । यी विषयहरु हामी महाधिवेशन प्रतिनिधिलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौँ ।’

उनले विधान महाधिवेशन नै नभइ पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न जनसङ्गठनलाई निर्देशन दिए ।

‘विधान महाधिवेशनभन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं,’ उनले भने, ‘विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौँला । एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन ।’ उपाध्यक्ष पौडेलले पार्टी र जनसङ्गठनमा देखिएको शिथिलतालाई चिर्न सबै लाग्नुपर्ने बताए ।

उनले पार्टी निर्माणमा जनसङ्गठनको सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए ।  २०४६/४७ को जनआन्दोलन र २०६२/६३ दोस्रो जनआन्दोलनमा जनसङ्गठन धेरै सशक्त भएको स्मरण गर्दै उनले वर्तमान अवस्थामा जनसङ्गठन सुस्ताएको बताए ।

‘जनसङ्गठन पार्टीको नर्सरी हो । यहाँ रोपेका बिरुवा हुर्किएपछि पार्टीमा सारिन्छ’, उनले भने, ‘त्यसैले मूलरुपमा पार्टीको सम्पर्कमा नयाँ मानिसहरुलाई ल्याउने काम जनसङ्गठनको नै हो । तर अहिले कतिपय जनसङ्गठनले पार्टीकै कार्यकर्ता लगेर सङ्गठित गर्ने अनि फेरि पार्टीमै फर्काइ दिने गरेका छन् । यसले सङ्गठन र पार्टीको विस्तार हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *