भिजिट भिसा प्रकरणः नक्कली भनिएको उजुरीकाबारेमा छानबिन गर्न रास्वपाले बनायो समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले सांसद सुमना श्रेष्ठको निर्देशनमा आफूविरुद्ध नक्कली उजुरी दिन लगाएको अभिव्यक्ति दिएको भन्ने समाचारले पार्टीको ध्यानाकर्षण गराएको भन्दै छानबिन समिति बनाएको छ ।

रास्वपाले यसमा पार्टीमा आबद्ध कोही व्यक्ति भए नभएकोबारे सत्य तथ्य पत्ता लगाउन केन्द्रीय सदस्य एवं सांसद प्रा. डा. चन्दा कार्की भण्डारीको संयोजकत्वमा समिति बनाएको हो ।

समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव विष्ट सदस्य रहेका छन् । रास्वपाले यसलाई विषयान्तर गर्न तथा संसदको रोष्ट्रमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्कीको नियोजित शृङ्खला मानेको छ ।

गत जेठ १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीले ‘भिजिट भिसा र मानव तस्करीसँग सम्बन्धित प्रकरणको कारण ठगिएको कोही हुनुहुन्छ भने, कृपया प्रमाणसहित सम्पर्कमा आउनुस्’ भनेर आव्हान गरेर अभियान चलाएको थियो ।

आह्वान पछि भर्चुअल र भौतिक माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आएका रास्वपाले जनाएको छ ।

रास्वपाले भनेको छ, ‘त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आउनुभयो । हामीले वहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोग लगायतमा उजुरी दिन सुझाएका हौं । र, यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो । साथै, हामीले पटक पटक भनेकै छौं। हामी भिजिट भिसा र मानव तस्करीको सङ्गठित अपराधको विरुद्ध आन्दोलन गर्दैछौं। यसमा विगत १८ वर्ष र १४ गृहमन्त्री सबैको छानबिन गरौँ भनेका छौं। हाम्रो मुद्दा कोही एक दल र नेताप्रति लक्षित छैन। कोही एक व्यक्तिको पछि लाग्ने हाम्रो राजनीतिक आचरण र अभ्यास छैन र त्यो हाम्रो राजनीतिक प्राथमिकता पनि हैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *