काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले पहिलो जित निकालेको छ । मंगलबार राति सम्पन्न खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हराएको हो ।
जितको लागि ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपालको लागि कुशल भुर्तेलले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा ४ चौका प्रहार गरे । यस्तै दीपेन्द्र सिंह एरीले १४, बासिर अहमदले १३, किरण ठगुन्नाले १०, लोकेश बमले ९, कप्तान रोहित पौडेलले ७ तथा रुपेश सिंह र अनिल शाहले तीन/तीन रनको योगदान गरे ।
स्कटल्याण्डको लागि सफयान शारिफ र माइकल लिस्कले दुई/दुई विकेट लिँदा ब्रान्डोन म्याकमुलेन, मार्क वाट, ज्याक जार्भिस र जास्पेर डेभिडसनले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्ड १९.४ ओभरमा ९७ रन बनाउँदै अलआउट भएको थियो । स्कटल्यान्डका लागि माइकल लिस्कले ४४ रनको योगदान दिए । अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
नेपालका सन्दीप लामिछाने एक्लैले चार विकेट लिए । लामिछानेले चार ओभरमा एक मेडनसहित ११ रन मात्र खर्चिए । यस्तै दीपेन्द्रसिंह ऐरी र करण केसीले समान दुई/दुई तथा ललित राजवंशीले एक विकेट लिए ।