गण्डकी प्रदेशस्तरीय क्रिकेटमा कास्की र नवलपुरको विजयी सुरूवात

कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको छ । यही जेठ ३१ गतेदेखि सुरू भएको प्रतियोगितामा मंगलबारदेखि लिगचरण अन्तरगत समूह ‘बी’ का खेल सुरू भएका छन् ।

समूह ‘ए’ बाट भने स्याङ्जाले फाइनलमा स्थान बनाइसेको छ । समूह ‘बी’को लिग चरणको पहिलो खेलमा कास्की र नवलपुरले विजयी सुरूवात गरेका छन् । कास्कीले पर्वतमाथि २० रनको रोमाञ्चक जित हात पारेको छ भने नवलपुरले गोरखालाई ९१ रनले फराकिलो अन्तरले हराएको हो । जितसँगै यस समूहमा दुवै टोलीको समान दुई अङ्क भएको छ ।

खराब मौसमका कारण छोट्ट्याइएको १३ ओभरको खेलमा पर्वतले टस जितेर ‘फिल्डिङ’ रोजेपछि कास्कीले पूरै ओभर खेल्दै नौ विकेटको क्षतिमा एक सय आठ रन बनायो ।

कास्कीका लागि सफल श्रेष्ठले आक्रामक प्रदर्शन गर्दै २२ बलमा चार चौका र दुई छक्कासहित ४० रन बनाए भने अर्का ओपनर अर्जुन कुमालले १२ बलमा २३ रन जोडे । पर्वतका लागि अमृत गुरूङले तीन विकेट लिए भने रोशन गौतमले दुई विकेट र राजु थापाले एक विकेट लिए ।

जितका लागि एक सय नौ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको पर्वतले निर्धारित १३ ओभरमा चार विकेटको क्षतिमा ८८ रन मात्र बनाउन सक्यो । रोशन गौतमले सर्वाधिक ३५ रन बनाए भने सन्देश खड्का र अभिषेक थापाले क्रमशः १२ र १० रनको योगदान दिए । कास्कीका सिब्रिन श्रेष्ठले दुई विकेट लिए भने कृष्ण पौडेल र सुभाष भण्डारीले समान एक/एक विकेट झारे ।

यसैगरी आजनै भएको दोस्रो खेलमा नवलपुरले निर्धारित २० ओभरको खेलमा आठ विकेटको क्षतिमा एक सय ४३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको गोरखा १५ ओभरको दोस्रो बलमा ‘अलआउट’ हुँदै ५२ रन मात्र बनाउन सक्यो ।

नवलपुरका रिजन काफ्लेले ३६ बलमा ३७ रन र अपराजित पौडेलले २३ बलको सामना गर्दै २६ रन बनाउँदै पारीलाई सम्हाले । सुदीप अर्यालले १० बलमा २१ रन बनाउँदै तीव्र पारी खेले । गोरखाका युनिश थापाले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए भने स्वरूप राज श्रेष्ठ र मेहुल श्रेष्ठले दुई/दुई विकेट लिए ।

बुधबार समूह ‘बी’ अन्तरगत लिगको खेलमा पर्वतले नवलपुरको सामना गर्नेछ भने गोरखाले कास्कीको सामना गर्ने आयोजक गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख, उपविजेताले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई चार हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही दुई हजारसहित ट्रफी प्रदान प्रतियोगिताका संयोजक ऋषिराम गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *