काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको बताएका छन् । मंगलबार अदालतको आदेशमा धरौटीमा रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै मिश्रले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास जागेको बताएका हुन् ।
उनले राज्यले जसरी आरोप लगाएको थियो त्यो दुःखद भएपनि अदालतले न्याय दिएकोमा खुसी लागेको बताए । उनले भने, ‘अदालत न्याय दिन सक्षम रहेछ र अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाँउमा विवेक प्रयोग गर्ने रहेछ भन्ने कुराले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास यसले जगाइ दिएको छ ।’
काठमाडौंको तीनकुनेमा चैत १५ गते राजावादीले गरेको आन्दोलन हिंसात्मक भएपछि मिश्र पक्राउ परेका थिए । मिश्रमाथि राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसूरमा मुद्दा दर्ता भएको थियो ।
मिश्रसँगै पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा भने सोमबार तीन लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।