काठमाडौं । नेपाली कांग्रेसले निलो रिबन लगाएर संसदमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई निस्कासन गर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा निलो रिबन लगाएर रास्वपाका सांसद गएपछि कांग्रेस मुख्य सचेतक श्यामप्रसाद घिमिरेले रास्वपाका सांसदहरुलाई बैठकबाट निस्कासन गर्न सभामुखलाई आग्रह गरेका हुन् ।
उनले संसदको नियमावली सम्झाउँदै भने, ‘संसद सचिवालयको नियमावली ३० मा अभद्र व्यवहार नियन्त्रको व्यवस्था छ । नियम ३१ मा बैठक कक्षबाट निष्कासन गर्ने व्यवस्था छ । निलो स्काफ लगाएर संसदमा आउनु मर्यादित हुन्छ कि हुँदैन ? भोलि हाफ पाइन्ट मात्रै लगाएर आउने, जथाभावी पोशाकमा आउने गरे, त्यो संसद्को मर्यादामा पर्छ कि पर्दैन ? सभामुखले चेतावनी दिएर उनीहरूलाई संसद्बाट निष्कासन गर्न सक्नुपर्छ । यो संसद्को मर्यादाबाहिरको विषय हो । यसमा उचित निर्णय लिनुपर्छ ।’
रास्वपाका सांसदहरु मानव तस्करीविरुद्ध निलो रिबन लगाएर संसदमा गएका थिए । घिमिरेको भनाईप्रति आपत्ति जनाउँदै रास्वपाका सांसदहरुले नाराबाजी गरे । त्यसपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।