धरान-। इटहरी उपमहानगरपालिका-२० तरहरा स्थित धरान-तरहरा सडकबाट प्रहरीले दुई हजार १०० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
आज बिहान धरानबाट इटहरी जाँदै गरेको ना.५ ख ६११६ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ४८ बोरा बन्दाकोभी र १२ आलुको बोरा बीचमा लुकाइएको अवस्थामा ७० बोरा गाँजा फेला परेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए।
उक्त गाँजासहित ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका-६ का ३२ वर्षीय राजेन्द्र राई, ट्रकमा सवार ३३ वर्षीय सुनिल राई र सुनसरीको बराहक्षेत्र नगरपालिका-९ का ३४ वर्षीय सुमन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक तिमल्सिनाले जानकारी दिए।