काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा आफूहरूको विरोधबीच बजेटमाथिको छलफल अघि बढाइएको भन्दै उनीहरू आइतबारको बैठकबाट बाहिरिएका हुन् ।
बैठक सुरु भएलगत्तै राप्रपा सांसद विरोधस्वरूप आफ्नो आसनमा उभिएका थिए । आकस्मिक समयमा आफ्नो पालो आएपछि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विरोधबीच बैठक चलाएर ‘दादागिरी’ गरिएको भन्दै रोक्न आग्रह गरेका थिए । तर सभामुखले बैठक नरोकेपछि राप्रपाको सांसद बैठकबाट बाहिरिएका छन् ।
यता राष्ट्रिय स्वतन्त्र पाटीका सांसदहरू भने नाराबाजी गरिरहेका छन् । बैठक सुरु हुनासाथ सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी सुरु गरेका थिए र त्यो क्रम अहिले पनि जारी छ ।
‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपा र राप्रपाले विगत केहीदिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । रास्वपाका सांसदहरूले भिजिट भिसा र अध्यागमनका विषय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका हुन् ।