जेरुसेलम । इजरायली सेनाले इरानको पश्चिमी भागदेखि तेहरानसम्मको हवाई क्षेत्रमा आफ्नो नियन्त्रण कायम गरेको जनाएको छ।
इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले भने, ‘हामीले पश्चिम इरानबाट तेहरानसम्म ‘हवाई स्वतन्त्रता’ सिर्जना गरेका छौँ ।’
इरानको राजधानी पश्चिममा इराकसँगको सीमाबाट करिब ४५० किलोमिटर (२८० माइल) टाढा छ।
‘तेहरान अब सुरक्षित छैन’, डेफ्रिनले पत्रकारहरूसँग भने, ‘लगभग ७० इजरायली लडाकू विमानहरूले इस्लामिक गणतन्त्र इरानविरुद्ध इजरायलको हवाई अभियानको दोस्रो दिन रातभर शहरका ४० भन्दा बढी लक्ष्यहरूमा आक्रमण गरेका थिए।’
डेफ्रिनका अनुसार इजरायली जेटविमानले पहिलो पटक ‘यो विशेष हवाई क्षेत्रमा’ प्रवेश गरी कारबाही भरेका थिए र अहिले ‘तेहरानमाथि स्वतन्त्र रूपमा’ उडान गरिरहेका छन्।
उनले भने, ‘हामीले इरानी भूमिमा अहिलेसम्म गरेको यो सबैभन्दा भित्रसम्मको प्रवेश पनि हो ।’
इजरायलले शुक्रबार इरानमाथि गरेको आकष्मिक आक्रमणमा २०० भन्दा बढी सैन्य तथा आणविक स्थलमा निशाना बनाएको र इरानी सेनाका शीर्ष कमाण्डर, आणविक वैज्ञानिक र अन्य वरिष्ठ अधिकारीको मृत्यु भएको डेफ्रिनले बताए ।
पहिलो चरणको आक्रमणमा परी ७८ जनाको मृत्यु भएको र ३२० जना घाइते भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।
त्यसको बदलामा इरानले शनिबार इजरायलमाथि ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दा तीन जनाको मृत्यु हुनुका साथै अन्य ७० भन्दा बढी घाइते भएका र कैयौँ शहरमा क्षति पुगेको थियो ।