काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको आर्थिक तथा सामाजिक रूपान्तरण कायम गर्न सही नीति, सिद्धान्त र कार्यक्रमको अवलम्बन गरेको बताएका छन् ।
पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीद्वारा शुक्रबार आयोजित कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष नेपालले देश र जनताको हितलाई सर्वोपरि राखेर पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको बताएका हुन् ।
अध्यक्ष नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीले निर्वाह गरेको भूमिकाबाट कतिपय व्यक्तिहरू आत्तिएर पार्टी विभाजन गराउन उद्यत रहेको आरोप लगाए ।
कम्युनिष्ट पार्टीको टुटफुटले समाजका आधारभूत आवश्यकता सम्बोधन गर्न नसकिएको बताउँदै उनले त्यसले जनतामा निराशा र आक्रोश बढेको विचार व्यक्त गरे । उनले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरण नीतिगत निर्णय भएकाले आफू निर्दोष रहेको प्रष्ट पारे ।
अध्यक्ष नेपालले संविधान प्रदत्त मन्त्रिपरिषदमा निहित नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलिलाई जग्गा उपलब्ध गराइएको बताए ।
पार्टीले उक्त मुद्दा प्रतिरक्षाका लागि कानुनविद् सम्मिलित कार्यदल गठन गरेको बताउँदै उनले सो विषयमा अदालतबाट छिट्टै न्याय निरूपण हुने विश्वास व्यक्त गरे ।