पूर्वविशिष्टलाई यतिधेरै सुविधा किन ?

काठमाडौं । पूर्वविशिष्टको सेवा सुविधालाई लिएर यतिबेला आलोचना भइरहेको छ । कसैले पूर्वविशिष्टलाई सेवा सुविधा दिनै नहुने बताएका छन् । पूर्वविशिष्टको प्रस्तावित सेवासुविधा हेर्दा झनै डरलाग्दो छ । सरकारले पूर्वराष्ट्रपतिका लागि मासिक वृत्ति एक लाख, घरभाडा मासिक २ लाखलगायतको खर्च प्रस्ताव गरेपछि सरकारको आलोचना भएको हो । यो प्रस्ताव अहिले गृह मन्त्रालयमा पुगेको छ । हाम्रोमा पूर्वराष्ट्रपति, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुखहरुको संख्या ठूलो छ । यसरी पूर्वविशिष्टलाई सुविधा दिँदा वर्षेनी कराडौं बजेट छुट्याउनुपर्ने अवस्था छ । विदेशी ऋण लिएर कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्थामा पूर्वविशिष्टलाई कुनै सुविधा दिन नहुने मत पनि छ । त्यसैले पनि पूर्वविशिष्टको सेवा सुविधालाई लिएर आलोचना भइरहेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना प्रश्न गर्छिन्, ‘पूर्वराष्ट्रपतिले नगद सुविधा मात्रै महिनाको ३ लाख पाउने ? पूर्वविशिष्ट सम्मानित हुनुपर्छ, तर राजा महाराजाको जस्तो ठाँटले राख्न गणतन्त्र ल्याएको हो हामीले ?’

यस्तो छ सुमनाको भनाई

न्यूनतम मासिक तलब १७ हजार जति तोकिएको छ– अर्थात् त्यति भए एक जना घर खर्च चल्छ भनेर सरकारले ठानेको छ । तर पूर्वराष्ट्रपतिले नगद सुविधा मात्रै महिनाको ३ लाख पाउने ? पूर्वविशिष्ट सम्मानित हुनुपर्छ, तर राजा महाराजाको जस्तो ठाँटले राख्न गणतन्त्र ल्याएको हो हामीले ? चालू खर्च धान्न उठेको राजश्वले नभ्याउने अवस्थामा राज्यकोषको यो नै उचित उपयोग हो, जनताले यो प्रश्न पक्कै सोध्नेछन् ।
मेरा थप केही प्रश्न छन् –
– आमजनताको आयको हरेक रुपैयामा कर उठाउछ सरकारले, यो आयमा कर लाग्छ कि लाग्दैन ?
– पूर्वविशिष्ट राजधानीमै किन बस्न पर्ने ? राजधानीबाहेक अरु ठाउँ विकास गर्न सक्दैनौ भन्ने स्वीकारोक्ति हो सरकारको ? अनि घर हुनेलाई वर्षको २ लाख, नहुनेलाई २४ लाख पाउने भनेपछि भएको घर पनि किन नबेच्ने ?
– १५० लिटर तेलले त १०००–१५०० किलोमिटर गुड्न पुग्ला, हरेक महिना त्यति भ्रमण गर्न पर्ला ?
अन्य देशमा राजनैतिक र सम्मानित पदबाट अवकासपछि पनि व्यक्ति सक्रिय रहन्छन्, आफैं आय आर्जन गर्छन् । पूर्वराष्ट्राध्यक्षले पनि अति साधारण पुरानै घरमा बसेका, सादा जीवन बिताएकाले उदाहरणीय भएका छन् ।
पूर्वविशष्टहरू–सामान्य जीवनयापन गर्न पुग्ने बाहेकको सुविधा हामीलाई चाहिँदैन भनेर लिखित वक्तव्य आओस् । सुविधाको लोभमा सम्मान नगुमाउनु होला ।

त्यस्तै नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रिताल पूर्व राष्ट्रपतिले कुनै दल विशेषको समर्थक वा सदस्य हुने मनोभावना त्यागेर सबै नागरिकको साझा अभिभावक बन्ने गरी काम र व्यवहार गर्नुपर्ने बताउँछन् ।

त्रिताल लेख्छन्ः
पूर्व राष्ट्रपतिज्यूहरुले यसो गरे कसो होला ?
राष्ट्राध्यक्ष पद अतिनै सम्मानित पद हो । यस पदमा पुग्नु भनेको देशका प्रत्येक नागरिकको मन मस्तिष्कमा श्रद्धापूर्वक सम्मानयोग्य हुनु हो । वर्तमान संविधानले यही सम्मान प्रदान गरेको छ । राष्ट्रपतिलाई राजनीति र अझ दलगत राजनीति भन्दा माथिको पदाधिकारी मानिएको छ । यो पदमा आसिन भइसकेको व्यक्ति विवादमा आउनु भनेको पदको गरिमामाथि प्रश्न उठ्नु हो ।
त्यसैले,
१. कुनै दल विशेषको समर्थक वा सदस्य हुने मनोभावना त्यागेर सबै नागरिकको साझा अभिभावक बन्ने गरी काम र व्यवहार गरौं ।
२. देशको वर्तमान आर्थिक अवस्था र आफ्नो हैसियत समेतलाई ध्यानमा राखेर सरकारबाट दिने आर्थिक सुविधा त्यागेको घोषणा गरौं ।
यसो भएमा,
. एउटा राम्रो उदाहरण बन्नेछ ।
२. अन्य पूर्व पदाधिकारीले पनि यसलाई आधार मान्न वाध्य हुनुपर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *