ढाका । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले आफूले बङ्गलादेशमा निर्बाचन गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । उनी आगामी अप्रिलमा निर्वाचन गर्ने घोषणा गरेको र निर्वाचनपछि सत्तामा रहिरहने कुनै उपाय आफूलाई बताए ।
करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा विद्यार्थी नेतृत्वको विद्रोहका कारण सन् २०२४ को अगष्टमा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरी १५ वर्ष लामो शासन अन्त्य भएको थियो ।
युनुस स्वयंले कुनै राजनीतिक पद खोजिरहेका छन् कि भनेर सोधिएको प्रश्नमा ८४ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता युनुसले निर्वाचनपछि सत्तामा रहिरहन ‘कुनै चाहना नभएको’ बताएका छन् ।
उनले भने, “मलाई लाग्छ, म मात्र होइन, हाम्रो क्याबिनेटका कुनै पनि सदस्यले त्यसो गर्न चाहँदैनन् ।”
लण्डनको विदेश नीति थिङ्क ट्याङ्क चाथम हाउस, रोयल इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्समा मङ्गलबार साँझ बोल्दै युनुसले उक्त कुरा बताएका हुन् ।
उनले हसिनालाई सत्ताच्युत गर्ने प्रदर्शन सुरु भएको एक वर्षपछि अर्को महिना ‘जुलाई चार्टर’ भनिने प्रस्तावको ‘ठूलो प्याकेज’ सार्वजनिक गर्न चाहेको पनि बताए ।
उनले यो प्याकेजको उद्देश्य हसिनाको कार्यकालपछि लोकतान्त्रिक संस्थाहरूमा आमूल परिवर्तन गर्नु रहेको बताए । ‘हामी नयाँ बङ्गलादेश बनाउन चाहन्छौं,” युनुसले भने ।
युनुसले लामो समयदेखि सन् २०२६ को जुनभन्दा अघि नै चुनाव हुने भन्दै आएका छन् तर अन्तरिम प्रशासनले जति धेरै सुधार गर्छ त्यति नै राम्रो हुने बताउँछन् ।
सत्ताका लागि होडबाजी गरिरहेका राजनीतिक दलहरूले पटक–पटक समयतालिका तोक्न माग गरेपछि उहाँले यसै महिनाको सुरुमा सन् २०२६ को अप्रिलमा चुनाव हुने बताएका थिए ।
उनले भने, “हाम्रो काम संक्रमणकाललाई राम्रोसँग व्यवस्थापन गर्ने हो र हामीले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्दा जनता खुसी हुनेछन् ।”
युनुसले लण्डनमा बङ्गलादेश नेसनलिस्ट पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमानसँग पनि भेटघाट गर्ने अपेक्षा गरिएको छ ।
पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा ५९ वर्षीय रहमानविरूद्ध हसिना सरकारले सन् २००८ मा दोषी करार गरी जेल सजाय सुनाएपछि लण्डनमा बस्दै आएका थिए । चुनावमा पार्टीको नेतृत्व गर्न उनी ढाका फर्कने अपेक्षा गरिएको छ ।