लस एन्जलसमा आप्रवासी धरपकडपछि चर्किएको प्रदर्शन रोक्न ट्रम्पद्वारा सेना परिचालन

बीबीसी । अमेरिकी राज्य क्यालिफोर्नियाको लस एन्जलस सहरमा ट्रम्प प्रशासनले थप २ हजार न्याशनल गार्ड र ७०० यूएस मरिन सैनिक पठाउन लागेको छ ।

आप्रवासीहरूलाई सङ्घीय निकाय आईसले धरपकड गरेपछि त्यहाँ चर्किएका विरोध प्रदर्शनहरू लगातार तेस्रो दिन जारी छ भने प्रदर्शनकारी तथा सुरक्षाकर्मीबीच झडपहरू भएका छन् । राज्यका गभर्नर गेभिन न्यूसमले ट्रम्प प्रशासनले अनावश्यक रूपमा सेना परिचालन गरेको भन्दै मुद्दा हालेका छन् ।

न्यूसम र लस एन्जलस सहरकी मेयर क्यारेन बासले स्थानीय प्रहरी स्थिति नियन्त्रणमा लिन सक्षम रहेको जिकिर गर्दै आएका छन् । गभर्नरको स्वीकृति बेगर सेना खटाएको भन्दै राज्यका महान्यायाधिवक्ताले राष्ट्रपति ट्रम्पलाई मुद्दा हालेका हुन् ।

यसअघि परिचालित २ हजार न्याशनल गार्डमध्ये केवल ३ सय मात्र खटिएको र बाँकी विना आदेश त्यत्तिकै बसिरहनु परेको अवस्थामा ट्रम्पले थप २ हजार परिचालन गरेको उनले बताए । साथै सङ्घीय कर्मचारी तथा भवनहरूको सुरक्षाका लागि भन्दै ट्रम्पले ७ सय मरिन सैनिक पनि खटाउने भनेका छन् ।

गभर्नर न्यूसमले ती मरिनहरू ‘निरङ्कुश राष्ट्रपतिको बहुलठ्ठीपूर्ण कल्पना पूरा गर्न’ खटिन लागेको बताए । यसबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै सेना खटाउने राष्ट्रपतिको कदमको बचाउ गरेका छन् । अमेरिकामा घरेलु शान्ति सुव्यवस्थाका मामिलामा सेना खटाइनु निकै अस्वाभाविक ठानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *