-सुरेश आचार्य ।
राजा हटाउने कोही पनि ठिक नभएको तथ्यगत रूपमा अब संसद र सडकमा प्रस्तुति गरेर जनजागरण जगाउनु पर्यो । नेपाली जनताको पेट लोकतन्त्र र गणतन्त्रको नाममा अघाउने भएको बिगतका कार्यहरूले गर्दा नागरिकलाई जागरूक र चेतनशील गराउनु पर्ने स्पष्ट सन्देश आएको छ । २२ वटा संसदीय सिट भएका रवि लामिछानेको संसद पद निलम्बन भयो, अहिले १० वटा सिट भएका माधव नेपालको संसद पद निलम्वन भयो । ३२ वटा सिट यता न उताको हुने देखियो ।
यस्तै हो भने साना तर सरकारको समीकरणमा ‘क्रिटिकल संसदीय उपस्थिति’ रहेका दलका दलपतिहरू होसियार हुने समय आयो । देउवा पार्टी, ओली पार्टी र प्रचण्ड पार्टी बाहेक सबैलाई सशंकित रहनु पर्ने प्रष्ट सन्देश माधव नेपाल प्रकरणबाट आएको छ ।
हुनत्, माधव नेपालले लोकमानसिंह कार्कीविरूद्ध कार्यालय समयपछि रातभरी नक्कली कागजात खडा गरी कसरी, किन र कसलाई बचाउन मध्यराति नै ‘महाअभियोग प्रस्ताव’ ल्याउन राष्ट्रपति भवनको कार्यालय राति १२ बजे खोलिएको थियो, माधव नेपालले अब पनि सार्वजनिक गर्न सक्छन् कि सक्तैनन्, थाहा छैन । यदि त्यो सार्वजनिक गरे भने जनताले उनलाई फेरि प्रधानमन्त्रीको पदमा बिराजमान गराउन नसकेता पनि मनभित्र भने अवश्य नै सम्झिरहने छन् । मेरो विचारमा माधव जोगिने अचूक अश्त्र लोकमान महाअभियोगको पर्दाफास हुनेछ ।
नेपाल सरकारको दृष्टि समतामूलक भएको भए सरकारलाई चूनौति दिने बालेन साह र हर्क साम्पाङ मात्र अप्ठ्यारोमा पर्ने होइनन्, अरू जजसलाई आर्थिक प्रकरणमा डाम्न सक्छन्, त्यसमै डाम्छन् । जसलाई आर्थिक प्रकरणमा डाम्न सक्ने आधार पाउँदैनन्, तिनीहरूलाई जातीय/धार्मिक/साम्प्रदायिक वा राज्यद्रोह (राजनीतिक) को मुद्दामा डाम्न सक्ने प्रबल संभावनालाई नजर अन्दाज नगरौं ।
मैले बुझेको त्यति हो । राजाको उपस्थिति राज्य संचालनमा नहँदा जो कोही प्रधानमन्त्री भए पनि केही फरक नपर्ने रहेछ– काले गए गोरे आउँछ, गोरे गए काले आउँछ ! जसको शक्ति त्यसैको भक्ति हुने भयो ! ‘तीन टिकट महाविकट’ जन्य देउवा, ओली र प्रचण्डको भक्ति गर्नेहरू नक्कली भूटानी बेचबिखन प्रकरण होस्, ललिता निवास वा बालमन्दिर प्रकरण होस् अथवा मेलम्ची वा भिजिट भिसा प्रकरण नै किन नहोस्– बच्छन्, बचाइन्छन् । राजाको शक्ति– ‘दलतन्त्रको राज्यदोहन र सर्वसत्तावाद’ लाई रोक्ने एकमात्र अचूक शक्ति हो । यदि राजालाई राजगद्दीमा नराख्ने हो भने अन्ततः देउवा, ओली र प्रचण्ड तथा तिनका पिछलग्गू बाहेक अरू कसैको भविष्य सुरक्षित नरहन सक्छ । बुझ्नेलाई यो कुरो गहिरो छ, नबुझ्नेलाई घरछेउमा पहिरो छ !