काठमाडौं । स्कटल्याण्ड जारी आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजको आफ्नो चौथो तथा अन्तिम खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । डुन्डेस्थित फ्रन्टहिलमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शुरु हुनेछ ।
नेपाल आज जित निकाल्दै सिरिजको अन्त्य गर्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले हराउँदै सिरिजको शुरुवात गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो । तेस्रो खेलमा कीर्तिमानी विजयी लक्ष्य पछ्याएको नेपाल स्कटल्याण्डसँग २ रनको झिनो अन्तरले पराजित भएको थियो ।
यता नेदरल्यान्ड्सले भने यस सिरिजमा जितको स्वाद चाख्न पाएको छैन । नेपाल र स्कटल्याण्डविरुद्ध एक/एक खेल खेलेको नेदरल्यान्ड्स दुवै खेलमा पराजित भएको छ । त्यसैले नेदरल्यान्ड्स आज पहिलो खेलमा भोगेको हारको बदला लिँदै सिरिजमा पहिलो जित निकाल्ने दाउमा रहेको छ ।
हाल नेदरल्यान्ड्स २२ खेलबाट २६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने १५ खेल खेलेको नेपाल १० अंकको साथ सातौँ स्थानमा रहेको छ ।