काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको उपलब्धिलाई स्वीकार गर्न नसक्नेले देशमा केही भएको छैन भन्ने भ्रामक प्रचार गरिरहेका बताएका छन् ।
एमाले केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा सोमबार राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका पदाधिकारीलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले प्राप्त सबै अधिकार र योगदान लोकतन्त्रका उपलब्धि हुन् भन्दै लोकतन्त्रले मध्यमवर्गको जबर्जस्ती उदय भएको बताए ।
महासचिव पोखरेलले हालका उपलब्धि हासिल गरे पनि राजनीतिक अस्थिरताका कारण गर्नुपर्ने धेरै काम गर्न नसकिएको बताए ।
‘राजनीतिक अस्थिरताले हामीले सबै अवसर सदुपयोग गर्न सकेका छैनौँ, अब बलियो राष्ट्रिय शक्ति, बलिया राजनीतिक दल र स्थिरता आवश्यक छ । त्यसकै लागि एमालेले मिसन २०८४ तय गरेको हो’, उनले भने ।
पार्टीभित्र साङ्गठनिक अराजकता र व्यक्तिवादी अवसरवाद मौलाएको भन्दै महासचिव पोखरेलले त्यसविरुद्ध दृढ सङ्घर्ष गर्नुपर्ने बताए । ‘हाम्रोभित्रै हुर्किरहेको अराजकता र अवसरवादलाई जित्नु नै आजको प्रमुख चुनौती हो’, उनले भने ।