-नारायण पौडेल ।
नेकपा –एमाले र समाजवादीका बीचमा भित्रभित्रै एकताका लागि दोस्रो तहका नेता बीच सघन वार्ता जारी थियो । पूर्व राष्ट्रपति विद्या भण्डारीको अगुवाइ रहने गरी एकताको सम्भावना बढ्दो थियो । ओलीले नचाहेमा एकता हुने अवस्था थिएन, छैन । तर चीनको भ्रमण सकेर आएकी भण्डारीको सक्रियताले पार्ने दवाव सामान्य हुने थिएन । अझ १५/२० वर्ष एमालेको नेतृत्वमा अरुले आँखा नलगाए हुन्छ भन्ने खुलेयाम भनिरहेका ओलीलाई १/२ वर्षमै चुनौती आइलाग्ने प्रष्ट देखिइरहेको थियो ।
यस्तो अवस्थामा नेपालमाथि मुद्दा दायर हुँदा ओलीका लागि २ अवसर प्राप्त हुने देखिन्छ ।
पहिलो–कि राजनीतिक मृत्यु कि मुद्दाबाट मुक्तिको दोषाधमा उभिएका नेपाललाई सम्मानरहित समायोजनका लागि गलाउन वा गलहत्याउन सजिलो हुनेछ । समाजवादी एमालेमा समाहित हुँदा ऊ पहिलो दल बन्ने सम्भावना अधिक हुनेछ । अशोक राईको पार्टी खडा गरिवरी राखिएको छ । यदि माधव नेपालले अड्डी कसिरहे उनी विनाको समाजवादीलाई एमालेमा समाहित गर्ने ओली दाउ छ । ओलीको सार्वजनिक घोषणा छँदैछ– माधव नेपाललाई एमालेमा ठाउँ छैन ।
दोस्रो– ओली आफू संसद विघटनमा सही थिएँ भन्ने सावित गर्न चाहन्छन् । र, उनको चाहना पूरा हुन वर्तमान संसदको विघटन अनिवार्य रहन्छ । एमाले पहिलो पार्टी भइहालेमा ओलीले सत्ता हस्तान्तरण गर्ने छैनन् । गरिहाले पनि काङ्ग्रेसलाई समर्थन गरिरहने छैनन् । ईखालु ओली सके आफ्नै नेतृत्वमा संसद विघटन गरी निर्वाचन गराउने, नसके देउवालाई त्यसका लागि उत्प्रेरित वा बाध्य पार्ने ओलीटिक्समा छन् ।
अब, अंहम प्रश्न उठ्छ, के माधव नेपाल प्रतिशोधको शिकार भएकै हुन् त ? यो गम्भीर प्रश्नको उत्तर अदालतहरुको निचोडले देला । तर, अख्तियार लगाइदिने भन्ने भाष्य ओली पक्षधरले बनाएको हो । माधव नेपाल र उनी पक्षधरका केही नेतालाई बारम्बार अख्तियार हाम्रो हतियार हो भन्ने हिसाबले ओली पक्षबाट धम्काउने गरिएको कुरा नेकपाकालमै ओपन सेक्रेट जस्तै थियो । नेकपाहरुका बीचमा ओपन सेक्रेट जस्तै रहेको भनिएको अख्तियारवाला हतियार पछिल्लो समय सतहमा देखिएको मात्र हो कि भन्ने चिन्ता राजनीतिकवृत्तमा देखिएको छ ।
समाजवादी तुलनात्मकरुपमा पूर्वी तराई र सुदुरपश्चिममा बलियो छ । यो पार्टीको अस्तित्व रक्षामा यी दुई भेग निर्णायक थिए/छन् । पूर्वी तराईको मियो माधव नेपाल भैहाले । सुदूरपश्चिममा समाजवादीको मियो दीर्घ सोढारी हुन् । संयोग या योजनावद्ध, सोढारीमाथि समेत अख्तियार सोझिएको छ । विगतमा सोढारीलाई एमालेमा फर्कन वा अख्तियारबाट डामिन धम्काइएको बताइएको छ । ओली पक्षीय नेता महेश बस्नेतले माधव नेपाल र दीर्घ सोढारी अख्तियारबाट डामिएकोमा सार्वजनिकरुपमा हर्ष बढाईं गरेको सन्दर्भलाई ओली पक्षमा जारी दीपावलीको झल्कोकोरुपमा बुझ्न सकिन्छ । नेपाल र सोढारीमाथि अख्तियारको दुरुपयोग नगरी सोझो ढंगले लागेको रैछ भने यसले थुप्रै अनुसन्धानलाई सहयोग पुर्याउने छ । भविष्यमा बहालवाला प्रधानमन्त्रीसमेत जाकिने परिस्थिति बन्नेछ । मात्र हतियारका रुपमा अख्तियार अग्रसर भएको भए अख्तियार दुरुपयोग अनुसन्धानका लागि गठित आयोगको दुरुपयोग भयावह हुनेछ ।