-शारदाप्रसाद त्रिताल
भूमि समस्या समाधान आयोगका पदाधिकारीहरुले प्रधानमन्त्रीलाई भेटेर संसदमा प्रस्तुत भूमि विधेयक चाँडो पास गर्न अनुरोध गरेछन् । भूमि आयोग वा सुकुम्बासी समस्या समाधान आयोग जे नाम दिए पनि यो देशको सरकारी र सार्वजनिक जग्गा लुट्ने प्रपञ्च बाहेक केही होइन । यो सबै तीन ठूला राजनीतिक दलहरुको संरक्षणमा भूमाफियाले नक्कली सुकुम्बासी खडा गरी जग्गा हडप्ने रणनीतिको उपज मात्र हो ।
नेपालमा वास्तविक सुकुम्बासीको संख्या अत्यन्त न्यून छ । सुकुम्बासी पहिचानको स्पस्ट आधार वा मापदण्ड पनि निर्धारण हुन सकेको छैन । जे जस्ता आधार वा मापदण्ड निर्धारण गरिन्छन् ती सबै भूमाफियाको स्वार्थ अनुरुप गरिएका छन् । जो वास्तविक सुकुम्बासी हो उसको अवस्था दयनीय छ । भूमाफियाले सेटिङ गरी सुकुम्बासी बनाइएका नक्कली सुकुम्बासीहरु भने मालामाल भएका छन् ।
नक्कली सुकुम्बासी हरेक सुकुम्बासी बस्तीका हर्ताकर्ता हुन्छन् । तिनैका नाइकेहरुले वास्तविक सुकुम्बासीसँग विभिन्न नाममा पैसा उठाउँछन् र भूमाफियालाई बुझाउँछन् । नाइकेहरुले अन्य विभिन्न तरिकाले वास्तविक सुकुम्बासी उपर शोषण गरिरहेका हुन्छन् । यसबारेमा हालसम्म कसैले औपचारिक रुपमा अध्ययन गरेको थाहा छैन । भूमि अधिकार मञ्च नामक संस्थाले शुरुको समयमा वास्तविक सुकुम्बासीको हितमा काम गर्ने प्रयास गरेको भए तापनि हाल सो संस्था पनि भूमाफियाको चङ्गुलमा फसिसकेको छ । यसले भूमाफियाको सेटिङ अनुसार सुकुम्बासीको संख्या बढाएर देखाउने काम मात्र गरिरहेकोछ ।
दलगत आधारमा गठन भएका तथाकथित आयोग वा समिति वा कार्यदलहरुले भूमाफियासँगको मिलोमतोमा वास्तविक सुकुम्बासीहरुलाई वेवास्ता गर्दै भूमाफियाले खडा गरेका नक्कली सुकुम्बासीलाई वास्तविक सुकुम्बासी भन्दै जग्गा वितरण गर्ने गरेका छन् ।
यदि निष्पक्ष छानविन गर्ने हो भने हालसम्म सुकुम्बासी भनेर पूर्जा दिइएका अधिकांश मान्छेहरु नक्कली भेटिनेछन् । अब यो स्पस्ट भइसकेकै छ कि यी तीन ठूला दल मिलेर सार्वजनिक तथा सरकारी जग्गा सखाप नै पार्ने भए । किनकी भूमी सम्बन्धी ऐन, २०२१ मा २०७६ सालमा भएको ८ औं संशोधनले देशको धेरै जमीन भूमाफियाको हातमा पुग्ने व्यवस्था गरेको छ । हाल संसदमा पेश भएको विधेयक अझ प्रतिगामी छ भन्ने सुन्नमा आएको छ ।
सुकुम्बासी समस्या पञ्चायतकालदेखि नै विवादित बन्दै आएको विषय हो । त्यो बेला पनि विभिन्न आयोगहरु गठन भए र सुकुम्बासीका नाममा धेरै सार्वजनिक र सरकारी जग्गाहरु व्यक्तिका नाममा दर्ता गरियो । २०४८ सालपछि दलगत स्वार्थ अनुरुप भोटको राजनीतिका रुपमा सुकुम्बासी समस्या देखा पर्यो । त्यसपछि नै भूमाफियाले सुकुम्बासी समस्यामा प्रवेश पायो र सुकुम्बासी समस्या पूर्णत भूमाफियाको कब्जामा पुग्यो । सरकार फेरिंदै पिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि होलान्) को संलग्नतामा आयोगहरु बन्ने र भूमाफियाको सेटिङ् अनुरुप पार्टीका कार्यकर्तालाई सुकुम्बासीको रुपमा प्रस्तुत गर्दै सार्वजनिक र सरकारी जग्गाहरु वितरण गर्ने अभियान नै चल्यो । अहिलेसम्म यो अभियान चलिरहेकै छ । अधिकांश भूमिसुधार मन्त्री बन्नेहरु भूमाफियाका एजेन्ट जस्तो भएर काम गर्ने गर्छन् । यसरी देशमा सुकुम्बासीको नाममा पार्टीका लठैत र भूमाफियाहरुले अत्याचार गरिरहेका छन् ।
सच्याउने उपाय के छ ?
हालसम्मका सुकुम्बासी आयोगहरुले सुकुम्बासी भनी गरेका निर्णय र जग्गा वितरण गर्ने गरी भएका सबै निर्णयका सम्बन्धमा छानविन गर्न विज्ञहरु सहितको एक न्यायिक आयोग गठन गर्ने । उक्त आयोगले निश्चित मापदण्डहरुका आधारमा छानबिन गर्ने । यसबाट वास्तविक सुकुम्बासीको पहिचान पनि हुन सक्छ ।
छानबिन कसरी गर्ने ?
छानबिन आयोगले सुकुम्बासीसँग तीन पुस्ते माग्नासाथ उनीहरुको पुख्र्यौली थातथलो (जिल्ला गाउँ बस्ती) पत्ता लाग्छ । उनिहरु के कारणले सुकुम्बासी भएका हुन् वा नक्कली सुकुम्बासी हन् भन्ने पहिचान हुन्छ । आयोगले नेपाल प्रहरीको सीआइबीको सहयोग लिएर अनुसन्धान गराउने व्यवस्था गर्नुपर्छ । यसरी भूमाफियासँग मिलेर घुस खाएर सुकुम्बासीको प्रमाणपत्र दिने र जग्गा वितरण गर्ने पदाधिकारी र कर्मचारीहरुको वास्तविकता पनि पत्ता लाग्नेछ । सानो संख्यामा रहेको वास्तविक सुकम्बासीको पहिचान हुनेछ । उनिहरुको व्यवस्थापन गर्न सरकारले उचित उपायहरु अपनाउन सक्नेछ । तर विडम्बना ! अहिलेका तीन ठूला दलका तीन मुखियाहरुको राजनीतिमा प्रभाव रहुञ्जेली यस्ता विकृतिहरुको समाधान हुन सक्तैन ।