प्रदेशको अधिकारमाथि केन्द्रले हस्तक्षेप गरेको छ, तर राइड सेयरिङ नियमावली कार्यान्वयनबाट पछि हट्दैनौंः मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड सेयरिङ नियमावली कार्यान्वयनबाट पछि नहट्ने बताएका छन् । प्रदेशसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेशको अधिकारमाथि हस्तक्षेप भएको देखिएको बताए ।

उनले प्रदेशले बनाएको कानुनमा संघले हस्तक्षेप गरे बताए । उनले भने,‘हामीले बनाएको नियम, कानुन किन स्थगन गर भनेको ? हस्तक्षेप भएको छ ।’

उनले संविधानले तीन तहको सरकारबीच समन्वय र सहकार्यको व्यवस्था गरेकाले त्यसैअनुसार तत्काललाई संघ सरकारको आग्रह मानेको बताए ।

उनले भने, ‘संघीय सरकारको आग्रहलाई संविधानको त्यही मर्मअनुसार सहकार्य गरेको हो । तथापि सहकार्य गरेको कदमबाट सरकार पछाडि हट्दैन ।’

एक महिनापछि राइड सेयरिङ नियमावलीले गरेको व्यवस्थाअनुसार दर्ता, नवीकरण र नियमन अघि बढाइने उनले बताए । गण्डकी प्रदेश सरकारले जेठ १ मा राइड सेयरिङ (नियमन तथा व्यवस्थापन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेको थियो ।

त्यसविरुद्ध यातायात व्यवसायी सार्वजनिक यातायात बन्द गरी आन्दोलनमा उत्रिएपछि संघ सरकारको आग्रहमा प्रदेश सरकारले एक महिनाका लागि स्थगन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *