काठमाडौं । नेपाल हेरिटेज २५ किलोमिटर रेसको उपाधि पुरुषतर्फ केन्याका जुलियस म्युरुकी र महिलातर्फ नेपालकी सन्तोषी श्रेष्ठले जितेकी छिन् ।
प्रतियोगिताको पुरुषतर्फ जुलियसले १ घण्टा १६ मिनेट ४८ सेकेन्डमा दुरी पार गरे । यस्तै पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका विनोद रोकाया दोस्रो र सुशील केसी तेस्रो भए ।
महिलातर्फ सन्तोषीले १ घण्टा ३१ मिनेट ४३ सेकेन्डमा दुरी पार गरिन् । यस्तै महिलातर्फ आर्मीकी निशा सार्की दोस्रो र सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारी तेस्रो भइन् । पुरुष र महिला दुवैतर्फका विजेताले १ लाख, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा दुवैतर्फ १८ वर्षमुनि र भेट्रान समूहमा पनि प्रतिस्पर्धा भएको थियो । यी दुवै समूहमा विजेताले १० हजार, दोस्रो हुनेले ६ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
२५ किलोमिटरको रेस त्रिपुरेश्वरको दशरथ रङ्गशालाबाट शुरू भएर कुपण्डोल, पाटन कृष्ण मन्दिर, ग्वार्काे, एअरपोर्ट, गौशाला, कालोपुल, कमलपोखरी, लैनचौर, स्वयम्भू, ताहाचल, वसन्तपुर हुँदै दशरथ रङ्गशालामै आएर टुङ्गिएको थियो ।