-ऋषि कट्टेल ।
कथित राजावादीहरुले राजा ल्याउने भनेर खुलारुपमा आन्दोलन सुरु गरेका छन् । यसले राजनीतिक वृत्तमा सानै भएपनि ध्रुवीकरण ल्याउन खोजेको छ । यद्यपी यो ध्रुवीकरणको भोलुम कति बढ्ने वा स्थिर रहनसक्ने वा नसक्ने कुरा अहिलेनै यकिन छैन । किनकी अहिले केवल राजावादीमात्र सडकको कुरा गरिरहेका छन् । यिनीहरुकाविरुद्ध एमाले र माओवादी केन्द्रले सडकवाट प्रतिरोध गर्ने सामान्य संकेत गरेपनि निर्णायक रुपमा गणतन्त्र पक्षधर जनता, दलहरु र सरकार आफैं पनि प्रतिरोधमा उत्रेको छैन । राजा ल्याउने आन्दोलन भनेको नेपाली जनता विरुद्ध युद्धको घोषणा हो । दुई पक्ष आमने सामने भएपछि नै यो युद्धको हैसियत थाहा हुने हो ।
नेपालमा गणतन्त्रको स्थापना वाम प्रजातान्त्रिक शक्तिहरुको संयुक्त आन्दोलनाट भएको हो । अर्थात् कम्युनिष्ट कांग्रेस मिलेर गरेका हुन् । कम्युनिष्ट पार्टी गणतन्त्रवादी पार्टी हो । तर कांग्रेस हैन । कांग्रेस भित्र राजाबारे विगतदेखिनै तीन थरि दृष्टिकोण थिए जुन आजपनि त्यही कुरा देखापरिरहेछ । यसबारे क.पुष्पलालले भनेका छन् नेपाली कांग्रेसको वर्ग चरित्रनै असंगतिपूर्ण भएको हुँदा हामीले यसको राम्रो अध्ययन गर्नु आवश्यक हुन्छ । सुरु देखिनै नेपाली कांग्रेसमा तीन विचार धारा रहेर आएको पाइन्छ । पहिलो विचारधारा राजाको नेतृत्व स्वीकार गरी समाजमा क्रमिक सुधार गर्ने, दोस्रो विचारधारा संवैधानिक राजतन्त्र मान्दै समाजमा क्रमिक सुधार गर्ने र तेस्रो प्रजातन्त्रवादी विचारधारा जो राजतन्त्रको आवश्यकता देख्दैन ।
२०२५ सालदेखि लगातार क. पुष्पलालले राजतन्त्रविरुद्ध गरेको संयुक्त आन्दोलनको प्रस्तावलाई स्वीकारेन । ३० वर्षसम्म राजा संवैधानिक हुन मानेनन् । २०४६ मा आइपुगेपछि ऊ एक्लैले नसकेपछि वामसँग मिल्न तयार भयो र संयुक्त आन्दोलनले राजालाई सवैधानिक बनायो । ०६३ सम्म आइपुग्दा शक्ति सन्तुलन बदलियो । वामशक्ति सबैभन्दा बलशाली वन्यो । जसले गर्दा कांग्रेस भित्रको गणतन्त्रवादी धार पनि बलशाली बन्यो र संयुक्त आन्दोलनमार्फत राजतन्त्र मिल्कियो ।
अहिले काग्रेसको पहिलो राजावादी धार टाउको उठाउन थालेको छ र ऊ कोर्स करेक्सनको नाममा दोस्रो धारलाई साथ लिएर गणतन्त्र उल्टाउने दुस्पयास गर्दैछ । उसमा यो दुस्साहस पलाउनुको मुख्य कारण वाम शक्ति कमजोर हुनु हो । एमाले माओवादी जस्ता बलिया मानिएका वामहरुनै विसर्जवादमा पतन भैसकेपछि राजावादीले टाउको उठाउनु स्वभाविकै हो । राजावादीहरुको यो आन्दोलनले विसर्जनवादीहरुलाई छटपटी बनाइदिएको छ र आँखा खोल्न वाध्य बनाइदिएको छ ।