काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीले सूचना सङ्कलन एवम् पूर्वानुमानलाई संवेदनशील रूपमा लिएर विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।
मङ्गलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित नेपाल प्रहरीको विपद् व्यवस्थापन पूर्व तयारी बारे विस्तृत जानकारी लिँदै गृहमन्त्री लेखकले विपद् व्यवस्थापनमा विगतमा भएका कमी कमजोरीहरूको विश्लेषण गरी आगामी दिनमा त्रुटिरहित ढङ्गबाट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्नेमा जोड दिए ।
विपद् व्यवस्थापनमा स्थानीय तह एवम् अन्य सरोकारवाला नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र प्रदेश सरकार लगायतका निकायसँग समन्वय गरी जनताले महसुस गर्न सक्ने गरी कार्य गर्न निर्देशन दिए ।
सो अवसरमा विपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन एवम् विपद् उद्धार सामाग्रीहरूको अवलोकन समेत गरे । कार्यक्रममा निमित्त गृह सचिव जय नारायण आचार्यले विपद् व्यवस्थापनमा सूचना सङ्कलन र आपसी समन्वय महत्त्वपूर्ण हुने चर्चा गर्दै नेपाल प्रहरीले अन्य सुरक्षा निकायहरूसँग आपसी समन्वय र सहकार्य गर्दै विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
आम नागरिकले सङ्कटको बेला सुरक्षा निकायहरूलाई आशाको केन्द्रको रूपमा लिने हुनाले त्यस्तो परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहमा थप संवेदनशील भई उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धान गर्न, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनमा नेपाल प्रहरीले आफ्नो क्षमता र उपलब्ध स्रोतसाधनको समुचित प्रयोग गरी कुशलतापूर्वक जिम्मेवारी वहन गर्दै आएको बताए ।
सबै किसिमका आपतकालीन घटनामा अग्र पङ्क्तिमा रहेर प्रहरीले बहु आयामिक भूमिका निर्वाह गर्दै आएको र निरन्तर गरिरहने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले विपद् व्यवस्थापन पूर्व तयारी सम्बन्धी आ–आफ्नो प्रस्तुति राखेका थिए ।