महेन्द्रनगर (धनुषा) । जनकपुरधाममा दुई दिने थारु अन्तरराष्ट्रिय सांस्कृतिक सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
थारु अन्तरराष्ट्रिय महासभा तथा विभिन्न थारु सङ्घ संस्थाको संयुक्त आयोजनामा जनकपुरधाममा दुई दिने थारु अन्तरराष्ट्रिय सांस्कृतिक सम्मेलन आयोजना भएको थियो । सम्मेलनमा नेपाल र भारतका थारु प्रतिनिधिको सहभागिता रहेको थियो ।
सम्मेलनमा महासभाको अवधारणा, उद्देश्य, सङ्गठनात्मक सिद्धान्त तथा हाल थारु समुदायले भोगिरहेका साझा समस्या समाधानका उपायबारे छलफल भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा सात बुँदे घोषणापत्रबारे जानकारी दिइएको थियो ।
घोषणापत्रमा आतङ्कवादको कडा भत्र्सना गर्दै थारु समुदायको भाषा–संस्कृति र इतिहासको संरक्षण, आदिवासी अधिकारका पक्षमा अन्तरराष्ट्रिय पहल तथा सांस्कृतिक अनुसन्धान केन्द्र स्थापनाको विषय समावेश गरिएको छ ।
त्यसैगरी, थारु अन्तरराष्ट्रिय महासङ्घको नेपाल च्याप्टर गठन गर्ने निर्णय भएको छ । च्याप्टर गठन गर्ने कार्यको संयोजकमा श्रवण थारुलाई चयन गरिएको छ । सम्मेलनले अन्य देशमा पनि सङ्गठन विस्तार गर्दै थारु समुदायका अधिकार र पहिचान संरक्षणमा समन्वयकारी भूमिका खेल्ने विषयमा पनि छलफल गरेको जनाइएको छ ।