काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा समुन्नत राष्ट्र निर्माणका लागि महत्वपूर्ण आधार भएकाले सामुदायिक विद्यालयलाई थप सशक्त बनाउन सबै तहका सरकार, नीति निर्माता, स्थानीय समुदाय र सरोकारवाला बिच समन्वय एवम् सहकार्य आवश्यक रहेको बताएकी छिन् ।
काठमाडौँको टङ्गाल माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव (हीरक जयन्ती) तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले कुनै पनि राष्ट्रको प्रगति र समृद्धि त्यस राष्ट्रको शिक्षाको स्तरसँग प्रत्यक्ष रूपमा गाँसिएकाले राज्यका सबै निकायले त्यसतर्फ ध्यान दिनुपर्ने बताइन् ।
“हाम्रो शिक्षा प्रणालीको उद्देश्य केवल प्रमाणपत्र प्राप्त गर्ने शिक्षित व्यक्तिको उत्पादनमा सीमित रहनु हुँदैन । बरु परिवार, समाज र राष्ट्रप्रतिको गहिरो उत्तरदायित्व बोध भएका सक्षम, इमानदार, अनुशासित र जिम्मेवार नागरिक तयार पार्ने हुनुपर्दछ । प्राप्त अवसरको प्रभावकारी उपयोग गर्न र चुनौतीको सामना गर्न बालबालिकालाई गुणस्तरीय शिक्षाको माध्यमबाट अन्तरराष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न सक्ने योग्य र सक्षम बनाउनु आवश्यक छ,” पूर्वराष्ट्रपति भण्डारीले बताइन् ।
सूचना तथा सञ्चार प्रविधि र यातायातको तीव्र विकासका कारण आजको विश्व एउटा साझा गाउँ जस्तै बन्न पुगेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्,“ विश्वव्यापीकरणको यस प्रक्रियाले हाम्रा लागि एकातर्फ विभिन्न अवसरका ढोका खोलेको छ भने अर्कातर्फ केही चुनौती पनि थपिएका छन् । यसका लागि, हामीले हाम्रो शैक्षिक नीति, पाठ्यक्रम, शिक्षण पद्धति तथा समग्र शैक्षिक प्रणालीमा युगानुकूल सुधार गर्नु अपरिहार्य भइसकेको छ ।”
लगानी बढाएर शिक्षाको पवित्र मन्दिर विद्यालय तथा शैक्षिक केन्द्रको पठन पाठनलाई कतैबाट कुनै पनि बहानामा अवरुद्ध पार्न नहुने पूर्वराष्ट्रपति भण्डारीको भनाइ थियो । श्रमशक्तिको आन्तरिक माग र अन्तरराष्ट्रिय श्रमबजारको आवश्यकताअनुसार दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न, जीवनोपयोगी सीप, सिर्जनशील सोच र राष्ट्रप्रति उत्तरदायी नागरिक तयार गर्न सामुदायिक विद्यालयको योगदान रहेको उनले बताइन् ।
“आज हाम्रो सामु देखापरेका अनेकौँ चुनौतीमध्ये युवाशक्तिको तीव्र विदेश पलायन पनि एक हो । गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा उनीहरू देशबाहिर जान बाध्य भइरहेका छन् । यससँगै नेपालको श्रम, सीप, मस्तिष्क र पूँजीसमेत पलायन भइरहेको छ । मुलुकको यस्तो अवस्था बदल्न हामीले स्वदेशमै गुणस्तरीय शिक्षा, सीपमूलक तालिम र उत्पादनमूलक रोजगारीका अवसर सिर्जना गर्नु आवश्यक छ । यसका लागि हाम्रो शिक्षा प्रणालीलाई प्रत्यक्षरूपमा उत्पादनसँग जोड्न अत्यावश्यक छ”, पूर्वराष्ट्रपति भण्डारीले भनिन्।