किन राज्यका कुनै पनि अङ्ग र अवयवमाथि हामीलाई विश्वास छैन ?

-नारायण गाउँले ।

बहुदलीय व्यवस्था ल्याइयो, दलमाथि विश्वास छैन भोट हालेर जिताइयो, सांसद् माथि विश्वास छैन । कर्मचारीलाई राष्ट्रसेवक भनियो, तिनैमाथि विश्वास छैन । आफूखुसी फैसला नआए अदालतमाथि विश्वास छैन । चौथो अङ्ग भनिन्छ, तर मिडियामाथि पनि विश्वास छैन । राज्यका कुनै पनि अङ्ग र अवयवमाथि हामीलाई विश्वास छैन । जतिसुकै विद्वान् र विज्ञ होस्, कुनै दलको भयो भने त्यो झोले भयो । जबकी निर्दलीय पञ्चायत फालेर हामीले ल्याएको व्यवस्था दलीय हो । दल भनेको जनता नै हो । जुन दलमा अरूभन्दा बढी जनता, त्यसैले शासन गर्ने हो । मन नपरे दल फेर्ने या अर्को छान्ने हो । तर दलको भयो कि बर्बाद भयो भन्ने हाम्रो विश्वास छ । देश हाँक्ने र त्यसका लागि कानुन र विधि बनाउने चाबी दललाई नै सुम्पिने हो ।

जनताको प्रतिनिधित्व गर्ने सांसदले हो । जनताको सबैभन्दा बढी विश्वास जित्नेवाला छानिने हो । विकास र काम चाहिने जनतालाई हो । उसैले सबैभन्दा बढी आफ्नो क्षेत्र र समस्या बुझेको होला । अलिकति स्थानीय योजना र बजेट सांसद विकास कोषका लागि छुट्याइयो भने त्यो पैसा सोझै मुखमा गयो भन्ने मानिन्छ । जबकि त्यो पैसा न सांसदको निजी खातामा हुन्छ, न उसको निजी तजबिजले खर्च हुन्छ । दलकै अर्थमन्त्रीले सिङ्गो बजेट चलाउँछ, आपत्ति छैन, दलको सांसदले सानो योजना चलायो भने भ्रष्टाचार हुने हाम्रो ठहर छ । त्यस्तो अविश्वसनीय सांसदले कस्तो कानुन बनाउला ?

अदालतको त कुरै गर्न परेन । व्यवस्था नै दलले चलाउने ल्याएको छ, न्यायाधीश छान्न अमेरिका त आउने कुरो भएन । विद्यार्थीदेखि नै सङ्गठन र स्ववियु छ, चुनाब छ । वकिलको पार्टी छ, पढाउने प्राध्यापकको पार्टी छ । न्यायाधीशचाहिँ दलबाहिरबाट फुत्त आउने भन्ने त कसरी होला र ! हिजो राजाले छान्थे, आज दलले छान्छन् । तैपनि आफ्नो पक्षमा फैसला आउँदाचाहिँ न्याय नमरेको भन्न छुटाउँदैनौँ हामी । फैसला नआउन्जेलका न्यायिक प्रक्रियामाथि हामीलाई विश्वास छैन । हो, न्यायाधीश पनि मान्छे नै हुन् । हामीजस्तै लोभ, मोह, रागद्वेष र दृष्टिदोष हुन सक्छ । गल्ती र त्रुटि हुन्छन् । तर तिनलाई पुनः परीक्षण गर्ने बाटो पनि होला । हामीलाई भने संस्थाकै विश्वास धमिल्याउन मजा आउँछ । विकल्प के त भन्ने चाहिँ हाम्रो चासो होइन ।

पत्रकारिताप्रति त यति घृणा, अविश्वास र शत्रुता छ कि मानौँ देशका सबै बेथिति, भ्रष्टाचार र अकर्मण्यता पत्रकार या पत्रिकाकै कारण भएको हो । पत्रिका नभएको भए देश स्वर्ग हुन्थ्यो, सबै नेता स्वच्छ हुन्थे । यद्यपि आफूबाहेक अरू कसैका बारे लेख्दाचाहिँ त्यही पत्रिका अकाट्य प्रमाण हो जस्तो मलाई लाग्छ ।अनि यी अविश्वास र आशङ्का यत्तिकै जन्मिएका स्वैरकल्पना पनि पक्कै नहोलान् । जो व्यवस्थाको बुइ चढेर अग्लो कुर्सीमा पुगेको छ, उसैले यसको विश्वास हल्लाउन योगदान गर्ने किन होला ?

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकादेखि पत्रकारितासम्म सबै खराब र अविश्वसनीय भएपछि देश बनाउनेचाहिँ कसले र कसरी होला ? ‘राम्रो म’ले मात्रै त देश बन्दैन । एकदुई जना खराब भए पो कोसिस गर्नु । सानातिना समस्या भए पो लड्नु! दलदेखि अदालतसम्म, सरकारदेखि मिडियासम्म सबै भ्रष्ट र देश डुबाउन खोज्ने भएपछि जति नै राम्रो भए पनि म एक्लैले देश बचाउन सक्ने कुरो भएन । देश त गयो गयो । जे गयो गयो, त्यसको चिन्ता गरेर पो के गर्नु ! आजसम्मका व्यवस्था नै खराब हुन् कि ? व्यवस्था सही नै भए पनि हामी खराब हौँ कि ? कतै हाम्रो सोच र वर्तमान व्यवस्थाबीच तालमेल नमिलेको पो हो कि ? यो व्यवस्थाप्रति हामी तयार नभइसकेको पो हो कि ? या सबै ठीक भएर पनि हामी डिप्रेशनको मनोरोगी भएको पो हो कि ? आगो नै नभई हाम्रो पछाडिको तावामा धुवाँ देखिएको मात्रै हो कि ? के होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *