काठमाडौं । जावलाखेलस्थित चिडियाखानाको रेडपान्डा चोर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौको स्वयम्भू क्षेत्र बस्ने २१ वर्षीय कृष्ण गुरूङ र भारत घर भई स्वयम्भू बस्ने २६ वर्षीय मोहमद तफिक छन् ।
प्रहरीकाअनुसार उनीहरूले वैशाख ३० गते राति १० बजेतिर रेडपान्डा चोरी गर्ने प्रयास गरेका थिए। चोरी गर्न असफल भएपछि गुरूङ र तफिक सहित चारै जना आफूले बोकेको झोला, जुत्ता पनि छाडेर भागेका थिए । सिसिटिभी फुटेजबाट प्रहरीले सुरूमा ती व्यक्तिहरूको पहिचान खुलाएको थियो।
अनुसन्धानबाट पक्राउ परेका तफिक र अर्का भारतीय नागरिक स्वयम्भू क्षेत्रमा चराचुरूंगी बेचबिखनको व्यवसाय गर्छन् । उनीहरू वैशाख ३० गते भन्दा चार/पाँच दिनअघि पनि चिडियाखानामा प्रवेश गरेका थिए।
त्यति बेला उनीहरूले रेडपान्डा राखिएको ठाउँ, झ्याल, ढोका, भित्र प्रवेश गर्न सक्ने स्थानहरू, सिसिटिभीले खिच्न सक्ने ठाउँ लगायतबारे अध्ययन गरेको प्रहरीले जनाएको छ । त्यति बेला पनि उनीहरू लुकेर क्यान्टिनमा बसेर मौका छोपिरहेका थिए।
तर रेडपान्डा चोर्न खोज्दा भागेर रूखमा चढेको थियो। सफल नभएपछि वैशाख ३० गते राति उनीहरू पुनः चिडियाखाना पुगेका थिए । दिउँसो चिडिखाना गएका उनीहरु शौचालयमा लुकेर बसेका र राति १० बजेतिर सबै सुनसान भएपछि भने उनीहरूले निस्केर चोरी गर्न खोजेका थिए ।
प्रहरीले भनेको छ, ‘वैशाख३० गते रातको समयमा उनीहरु पुनः सदर चिडियाखानामा दुर्लभ प्रजातीको रेड पाण्डा (हाब्रे) चोरी गर्न भनि आई सदर चिडिया खानामा रहेको उक्त एक मात्र रेड पाण्डालाई नियन्त्रणमा लिई झोला भित्र राखि चोरी गरी लिएर जाने क्रममा रेड पाण्डा कराएको साथै चिडियाखाना भित्रका कर्मचारीहरुको समेत आवातजावत भएपश्चात उनीहरु उक्त रेडपाण्डा राखिएको झोला सहित रेड पाण्डा राख्न बनाईएको कम्पाउण्ड भन्दा बाहिर रहेको निगालो घारीमा छाडी भागि फरार भएको पाईए पश्चात उक्त चोरी उद्योग गर्ने कार्यमा संलग्न व्यक्तिहरुको पहिचान गरी काठमाण्डौ महानगरपालिका स्वयम्भुबाट पक्राउ गरी चोरी उद्योग कसुरमा मुद्दा दर्ता गरी सम्मानित अदालतबाट दिन ५ म्याद थप अनुमति लिई थप अनुसन्धानको कार्य भइरहेको ।’
पक्राउ परेका तफिकले प्रहरीलाई दिएको बयान अनुसार रेडपान्डालाई जिउँदै भारत लैजाने तयारी थियो । भारतमा पुर्याएबापत दुई लाख रूपैयाँ दिने भनिएको उनले बताएका छन् । घटनामा संलग्न दुई अझै फरार रहेका प्रहरीले जनाएको छ ।